हरिवनको प्रकोप व्यवस्थापन कोषमा नेकपाको डेढ लाख

183

हरिवन – हरिवन नगरपालिका कार्यालयले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हरिवन नगर कमिटीले १ लाख ५६ हजार ६९५ रुपैंया सहयोग गरेको छ ।

कमिटीले आईतबार नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंलाई नगद रकम प्रदान गरेको छ । पार्टी सदस्य एवं शुभेच्छुकहरुबाट स्वतस्फूर्त रुपमा सहयोग प्राप्त भएको रकम मेयर प्रसाईंलाई हस्तान्तरण गरिएको नेकपा हरिवनका नेता चूडामणि वाग्लेले जानकारी दिए । नेकपाले सहयोग संकलन गर्नका लागि केही दिनअघि विदुर प्याकुरेल, अर्जुन पन्त, रामहरि प्रसाईं, उत्तरकुमार मैनाली, रामप्रसाद घिमिरे र चूडामणि वाग्ले रहेको कमिटी बनाएको थियो । कमिटीका सदस्यहरुको सकृयतामा उक्त रकम संकलन भएको र मेयर प्रसाईंलाई हस्तान्तरण गरिएको वाग्लेले जानकारी दिए । नगद हस्तान्तरण कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय अच्युतम काफ्ले र बद्रीप्रसाद न्यौपाने, प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, नेता राजकुमार उप्रेती, उपमेयर रेणुका पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बचाउन सरकारले गरेको लकडाउनका कारण अफ्ठयारोमा परेका विपन्न परिवारलाई खाद्यान्न लगायत राहत वितरण गर्नका लागि हरिवन नगरपालिका कार्यालयले स्थापना गरेको कोषमा आईतबारसम्म ३८ लाख रुपैंया संकलन भईसकेको मेयर प्रसाईंले जानकारी दिए । ‘नगरपालिका आफैले ११ लाख रुपैंया जम्मा गरेर स्थापन गरेको कोषमा आजसम्म ३८ लाख रुपैंया पुगिसकेको छ, अझै सहयोगको प्रतिबद्धताहरु आईरहेका छन्’ मेयर प्रसाईंले आईतबार दिउँसोे उज्यालो अभियानसँग भने, ‘हाँमीले बाहिरबाट हरिवनका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न भाडामा बसेका १३ विद्यार्थी सहित ४ हजार १८० घरधुरीलाई २५ किलो चामल, दाल, तेल, नुन सहित खाद्यान्न राहत स्वरुप वितरण गरिसकेका छौं, जसमा ६३ लाख हाराहारी खर्च भईसकेको छ ।