सर्लाही धनकौलका किशोरमा र्यापिड टेष्ट पोजेटिभ

धनकौल – सर्लाहीको धनकौल गाउँपालिकाले क्वारेन्टाइनमा राखेका एक किशोरमा र्यापिड डाइग्नोष्टिक टेष्ट रिपोर्ट पोजेटिभ आएको छ ।

शुक्रबार दिउँसो आरडीटी किटमार्फत परीक्षण गर्दा १४ वर्षीय किशोरमा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनलाई शुक्रबार साँझ नै प्रादेशिक अस्पताल जनकपुर पठाईएको छ । उनीसँगै क्वारेन्टाईनमा राखिएका अर्का एकजनालाई पनि जनकपुर नै पठाईएको प्रजिअ जिसीले जानकारी दिए । जनकपुरमा दुवैजनाको पीसीआर टेष्ट हुनेछ । र्यापिडमा पोजेटिभ देखिएपनि पीसीआर टेष्ट नगरी कोरोना भाईरस (कोभिड–१९) पुष्टी हुँदैन । धेरैजसो र्यापिड टेष्ट पोजेटिभ देखिएको केसहरुमा पीसीआर टेष्टले नेगेटिभ देखाईरहेको छ ।

प्रजिअ जिसीका अनुसार धनकौल निवासी ती किशोर १४ दिनअघि दिल्लीबाट आएको र आउने वितिकै प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेको थियो । ‘भारतको दिल्लीमा ब्याग फ्याक्ट्रीमा काम गर्ने रहेछन्’, प्रजिअ जिसीले भने, ‘गौरबाट नेपाल छिरेर घर आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेको थियो ।’

सर्लाहीका विभिन्न स्थानीय तहमा क्वारेन्टाईनमा राखिएका ६६ जनाको र्यापिड टेष्ट गरिसकिएको र ६५ जनाको नेगेटिभ देखिएपनि पहिलो पटक किशोरमा पोजेटिभ आएको हो । हालसम्म चन्द्रनगर, हरिपुर, कौडेना, लालबन्दी लगायत स्थानमा क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेष्ट गरिएको हो । क्वारेन्टाईनमा बसेको १४ दिन नाघेकाहरुलाई क्रमशः र्यापिड टेष्ट गरिने प्रजिअ जिसीले जानकारी दिए ।