राजमार्गमा अलपत्र परेका यात्रुलाई मनकारी यातायात व्यवसायीले गरे उद्धार

विभिन्न ठाउँमा राजमार्गमा अलपत्र परेका सर्लाहीसहित अन्य जिल्लाका नागरिकलाई यातायात व्यवसायीले उद्धार गरेका छन् ।

धादिङ र नुवाकोटाका विभिन्न कलकारखानामा कार्यरत ९० जना मजदुरहरुलाई मकवानपुरको चुरियामाईदेखि लालबन्दीसम्म ल्याइएको छ । मकवानपुरको थाहा नगरपालिकाले चुरियामाईसम्म ल्याएर छाडेको उनीहरुलाई आफूले गाडीको व्यवस्था गरी शनिवार दिउँसो लालबन्दीसम्म ल्याएर सहयोग गरेको प्रदेश २ यातायात प्रालीका सञ्चालक एवं नवलपुर निवासी यातायात व्यवसायी दीपक श्रेष्ठले बताए ।
त्यसरी उद्धार गरेर ल्याइएका केही बागमती र हरिवनमा झरेका छन् भने अरु सबैलाई लालबन्दी ल्याएर ओरालिएको छ । यहाँसम्म ल्याइएका स्थानीयलाई लालबन्दी नगरपालिकाले क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ ।
यसैगरी बाराको निजगढका यातायात व्यवसायीले पनि राजमार्गमा पैदल हिँडेर लामो गन्तव्य तय गरिरहेका मानिसहरुलाई आजै उद्धार गरेका छन् । सर्लाहीको बयलवास, सागरनाथ तथा सप्तरी, सिरहा, उदयपुर, सुनसरी लगायत जिल्लाका मानिसलाई निजगढमा खाना खुवाएर त्यहाँदेखि लालबन्दीसम्म ल्याएर सहयोग गरेको निजगढ निवासी नै यातायात व्यवसायी खड्गराज मैनालीले बताए ।