भोरको अगुवाईमा सर्लाहीका १३० विपन्न परिवारलाई राहत

198
स्थानीय वृद्धालाई राहत सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष प्रभु राय । (तस्बिर : उज्यालो अभियान)

कविलासी – घरमै चामल, दाल, नुन, तेल, तरकारी र सावुनको पोका पाएपछि मंगलवार विहान कविलासी नगरपालिका–७, सिर्सियाकी मानो देवीको मलिन अनुहारमा चमक देखियो ।विहानको ९ बजेपनि उनको घरको चुलो बल्न सकेको थिएन । राहतमा १० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, एकपोका नुन, आलु र स्वाविन तरकारी सहित दुईवटा सावुन पाइन् । यती सामान पाएपछि दश दिनको खर्च जुटेको भन्दै उनी खुसी भइन् ।

लकडाउनको अवधि बढ्दै गएपनि मानोदेवीले कतैबाट राहत पाउन सकेकी थिइनन् । स्थानीय तहले लगत संकलन गरेपनि उनीहरुले नगरपालिकाबाट समेत केही पाएकी छैनन् । उनको भान्सामा केही दिनदेखि भात पाकेको थिएन । गाउँबाट मागेर ल्याएको चिउरा र मकैको पिठोको भरमा लकडाउन कटाइरहेकी उनले चामल र दाल लगायतका सामग्री पाउँदा हर्षित देखिए ।

तीन छोरी र एक छोराको पालन पोषण गर्दै आएकी मानोदेवी एकल महिला हुन् । श्रीमानको रुख काट्ने क्रममा चेपिएर मृत्यु भएपछि चारजनाको परिवार पाल्ने जिम्मा उनको काँधमा आएको छ । लक डाउन हुनु अगाडी अर्काको ज्यालामा काम गरेर परिवारको पालनपोषण गर्दै आएकी मानोदेवीलाई अहिले काम नै नपाएपछि घरको चुलो बाल्न सकस भइरहेको छ । आर्थिक अभावका कारण उनले लकडाउनमा खाद्यान्न जोड्न सकेकी थिइनन् । ‘श्रीमानको मृत्युपछि बालबच्चालाई पाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ, दैनिक अर्काको काम गरेपछि दुई छाक टार्न सहज भएको थियो, तर लकडाउनले त्यसमा पनि अंकुश लगाइदियो,’ उनले भनिन्,‘लकडाउन पछाडी हामीले दिनको एक छाकमा चित्त बुझाउँदै आएका छौं, त्यो पनि
मागेर ल्याएको खाद्यान्नबाट, जसले यती सहयोग गर्नुभयो वहाँलाई धेरै धेरै
धन्यवाद ।’

लामो अवधिको लकडाउनले उनी जस्ता यहाँका मजदुर तथा विपन्न परिवार मर्कामा परेका छन् । काम नपाएको दिन कतिपयको चुलो नै बल्दैन । गैरका स्थानीय जगदिश महतो पनि अति विपन्न परिवार मध्येक एक हुन् । उनको परिवारमा ९ छोरी एक छोरा सहित १२ जनाको परिवार छ । उनी अहिलेसम्म ज्यालादारीमा काम गरेर परिवारको छाक टार्दै आएका थिए । तर मुलुक लकडाउनमा गएपछि उनले ज्याला मजदुरीको काम भने पाउन सकेका छैनन् । काम नपाउँदा उनलाई परिवारको भोक टार्नकै चिन्ता भएको छ । अहिलेसम्म छर छिमेकबाट सापटी मागेर छाक टार्दै आएका उनले केही मनकारी ब्यक्तिबाट सहयोग पाएपछि थोरै दिन भएपनि यो राहत प्याकेजले सहयोग पुग्ने बताए ।

यहाँका मजदुर तथा विपन्न परिवारले अहिलेसम्म स्थानीय सरकारबाट समेत केही पनि पाउन नसकेको अवस्थामा केही मनकारी ब्यक्तिले जुटाइदिएको सहयोगबाट कविलासी नगरपालिका–७ का ४३ अति विपन्न परिवारले राहत पाएका हुन् । भोर नामक गैर सरकारी संस्थाका संस्थापक चन्द्रनगर निवासी राजकुमार महतोको समन्वयमा हाल अमेरिकामा बस्दै आएका कविलासी नपा स्थित सिर्सिया निवासी दीपनारायण महतोले राहतका लागि सहयोग गरेका हुन् । लगत संकलनका क्रममा छुट्याईको रकमले नपुग्ने देखिएपछि कान्तिपुरकर्मी ओमप्रकाश ठाकुरले समेत राहतमा आर्थिक बहन गरेका छन् । सिर्सिया र गैरका ४३ परिवारलाई राहत वितरण गरिएको ठाकुरले जानकारी दिए । महतोद्वयले ३५ घरधुरीका लागि रकम उपलब्ध गराएपनि ४३ घरधुरी देखिएपछि बाँकी ८ घरधुरीका लागि ठाकुरले सहयोग गरेका हुन् ।

वडाध्यक्ष प्रभु रायले विपन्नहरुको घर घरमा पुगेर राहत बाँडेका थिए । वडाध्यक्ष रायले सहयोगि तीनैजना प्रति धन्यवाद प्रकट गरे । उनले स्थानीय तह मार्फत पनि केही राहत नपाइरहेका बेला मनकारी ब्यक्तिको सहयोगले विपन्न परिवारको चुलो बलेको जानकारी दिए । ‘मुलुक लकडाउनमा गएपछि मेरो वडाको अतिविपन्न परिवार मारमा परिरहेको थियो, थोरै भएपनि तपाईहरुले ब्यक्तिगतरुपमा गरेको सहयोग सराहनिय छ,’ उनले भने ।

प्रमुख प्रशासकिय अधिकृतको मार खेप्दै आएकाले कविलासी नगरपालिकामा राहत वितरणमा ढिलाई भएको मेयर कौशलकिशोर यादवले जानकारी दिए । उनले अवको एक हप्ता भित्रमा नगरका विपन्न परिवारले राहत रकम पाउने दावी गरे ।

भोरका संस्थापक राजकुमार महतोले सर्लाहीका विभिन्न स्थानीय तहमा लकडाउनका कारण मारमा परेका अति विपन्न, दलित समुदायका १३० घरधुरीलाई विभिन्न व्यक्तित्व एवं संस्थाकै पहलमा राहत वितरण गरिएको बताएका छन् । संस्थाको पहलमा कविलासी नगरपालिकामा ४३, हरिपुर्वा नगरपालिकामा ३१, चन्द्रनगर गाउँपालिकामा ४०, हरिवन नगरपालिकामा २, बागमती नगरपालिकामा २ र चक्रघट्टा गाउँपालिकामा २ परिवारलाई राहत वितरण गरिएको जानकारी दिए ।