कोरोनाविरुद्ध सचेतना जगाउन समिति गठन

समिति गठन गर्न भेला भएका वडाध्यक्ष शम्भु मैनाली र अन्य युवाहरु । तस्बिर : अच्यूत कुमार सापकोटा

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१०, ताईवान टोल र सुकुम्वासी वस्तीमा कोरोना भाईरस (कोभिड–१९) विरुद्ध सचेतना जगाउन समिति गठन गरिएको छ ।
बिहिवार बिहान स्थानीय सचेत युवाहरुको भेलाले महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध स्थानीयलाई सचेत गराई लकडाउनको कार्यान्वयन गरी घर–घरमै बस्न आग्रह गर्ने काममा खटिने गरी समिति गठन गरिएको हो । सो समितिको संयोजकमा श्यामबाबु आले मगर, सह–संयोजकमा विमल लामा सहित अन्य सदस्य रहेका छन् ।
वडाध्यक्ष शम्भु मैनाली समेतको उपस्थितिमा गठन गरिएको समितिले महामारीबाट गाउँलाई जोगाउन पहल गर्ने निर्णय भएको युवाहरुले बताएका छन् । सर्लाहीको पूर्व–पश्चिम राजमार्ग क्षेत्र र मुख्य बजार क्षेत्रमा लकडाउनको पालना भइरहे पनि ग्रामीण भेगमा यसको उल्लंघन भइरहेको छ ।