सर्लाहीको चन्द्रनगर र हरिपुरमा ५२ को र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

365

मलंंगवा – भारत तथा तेस्रो मुलुकबाट आएर सर्लाहीका विभिन्न क्वारेन्टाइनमा राखिएका ५२ जनाको ‘र्यापिड टेस्ट’ गरिएको छ । विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा रहेका ५२ जनाको मंगलबार ‘र्यापिड टेस्ट’ मार्फत कोरोना परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । सोमबार दिउँसो मात्र ‘र्यापिड टेस्ट’ किट जिल्ला ल्याइएको जिसीले बताए । प्राप्त किटबाट सोमबार र मंगलबार हरिपुर नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका दुईजना र चन्द्रनगर गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ५० जनाको कोरोना संक्रमण टेस्ट गरिएको हो ।

जिसीका अनुसार विभिन्न मुलुकबाट आएर जिल्लाका क्वारेन्टाइनमा रहेका सबैको क्रमश: कोरोना परीक्षण गरिनेछ । सर्लाहीमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका ९१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी जिल्लाको २० स्थानीय तहले ३७ स्थानमा तीन सय ८३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेका छन् । मलंगवास्थित जिल्ला अस्पतालमा १५ शय्याको आसोलेटेड बेड तयारी अवस्थामा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।