सर्लाहीको कौडेना क्वारेन्टाइनमा बसेका ५ जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ

116

सर्लाहीमा क्वारेन्टाइनमा बसिरहेकाहरुको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण तीव्र पारिएको छ ।

लकडाउन अर्थात बन्दाबदी सुरु भएपछि पनि भारतबाट लुकिछिपी गाउँ प्रवेश गरेकाहरुको कोरोना परीक्षण गर्न सुरु गरिएको हो । जिल्लाको चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ५० जना, कौडेना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जना र हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको कोरोना जाँच गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
उनका अनुसार अब जिल्लाका अन्य पालिकाको क्वारेन्टाइनमा बसेकाहरुको पनि क्रमैसँग आरडीटी विधिबाट कोरोना परीक्षण गरिने छ । सर्लाहीमा भारत र अन्य मुलुकबाट भर्खरै गाउँ आएकाहरुलाई पालिकाहरुले निर्माण गरेको क्वारेन्टाइनमा राखेर निगरानी गर्ने काम भइरहेको छ । खुला सीमा नाका हुँदै भारतबाट थप मानिस आउन नदिन अहिले अत्यन्त कडाई गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।
जिल्लामा २० वटा पालिकामा तीन सय ८३ बेड क्षमताको क्वारेन्टाइन र जिल्ला अस्पताल मलङ्गवामा १५ बेडको आइसोलेटेड वार्ड तयारी पारिएको छ । क्वारेन्टाइन र ओसेलेटेड वार्डमा स्थानीय स्तरमै उपलब्ध चिकित्सकहरुको व्यवस्था मिलाइएको छ ।