सर्लाहीको गौरिशंकरमा राहतको निहुँमा झडप, प्रहरीद्वारा २ सेल अश्रुग्याँस प्रहार

गौरिशंकर – सर्लाहीको पूर्वी गाउँ गौरिशंकरमा राहतको विषयमा मंगलबार दिउँसो झडप भएको छ । राहतको विषयमा भएको विवाद बढेर स्थानीय बासिन्दाको एक समूह तथा वडाध्यक्ष सहित जनप्रतिनिधिहरुबीच झडप नै भएपछि प्रहरीले भिड नियन्त्रणमा लिन दुई सेल अश्रुग्याँस प्रहार गरेको छ ।

ईश्वरपुर नगरपालिका–१५ गौरिशंकरको सोकनाहा बजार स्थित वडा कार्यालयमा राहतको विषयमा दुईपक्ष बीच झडप भएको हो । दिउँसो सबा १२ बजे वडा कार्यालयमा पुगेको १५० जनाको समूहले आफूहरुको नाम राहत पाउने लिष्टमा नभएको भन्दै वडाध्यक्ष सहित जनप्रतिनिधि र कर्मचारीमाथि हातपात सहित विवाद गरेको प्रहरीले जनाएको छ । सम्झाई बुझाई गर्न खोज्दा सुरक्षाकर्मी माथि नै ढुंगामुढा गर्न थालेपछि भिड तितरवितर पार्नका लागि दुई सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए । प्रनाउ कुवँरका अनुसार गाउँलेले प्रहार गरेको ढुुंगाले लागेर प्रहरी सहायक निरीक्षक विरेन्द्र यादव तथा प्रहरी जवान भागेश्वर यादव सामान्य घाईते भएका छन् ।

‘राहत पाउने लिष्टमा आफूहरुको नाम नपरेको भन्दै वडाध्यक्ष लगायतसँग विवाद गरिरहेको समूहलाई सम्झाई बुझाई पठाउन खोज्दा सुरक्षाकर्मीमाथि नै ढुंगामुढा प्रहार गरे’, प्रनाउ कुँवरले भने, ‘ढुंगाले लागेर सुरक्षाकर्मी नै घाईते भएकाले भिड नियन्त्रण गर्न बाध्य भएर अश्रुग्याँस प्रहार गर्नु प¥यो ।’ फेरि झडप हुन सक्ने भएकाले सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको र हाल उक्त क्षेत्रको स्थिती शान्तिपूर्ण रहेको प्रनाउ कुवँरले जानकारी दिए ।

वडाध्यक्ष कपिलदेव चौधरी धाँमीले कार्यालयमै आएर आफूहरुमाथि आक्रमण भएको जानकारी दिए । ‘आजैबाट राहत वितरण गर्नका लागि जनप्रतिनिधि एवं केही राजनैतिक दलका प्रतिनिधिबीच कार्यालयमा छलफल गरिरहेका थियौं’, वडाध्यक्ष धाँमीले भने, ‘एक्कासी एक समूह कार्यालयमै आएर हाम्रो नाम किन राहत पाउने लिष्टमा नराखेको भन्दै हातपात गर्न सूरु गरे ।’ राहत वितरणको विषयमा निर्णय लेखिएको पुस्तिका समेत नियन्त्रणमा लिएर उक्त समूहले च्यातिदिएको वडाध्यक्ष धाँमीले जानकारी दिए । नाम छुटेको भए सर्वदलिय बैठक बसेर सच्याउँछौं भन्दाभन्दै उक्त समूह हातपातमै उत्रिएको वडाध्यक्ष धाँमीको दावी छ ।
वडाभित्र राहत पाउनका लागि हालसम्म ५३४ घरधुरीको नामावली संकलन भएको उल्लेख गर्दै वडाध्यक्ष धाँमीले पाउनैपर्ने वास्तविक घरधुरी छुटेको भए अझैपनि सर्वदलिय बैठक बसेर सच्याईने जानकारी दिए ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण खानै नपाउने अवस्थामा पुगेका अति विपन्न परिवारलाई हाल जिल्ला स्थित विभिन्न स्थानीय तहले धमाधम राहत स्वरुप खाद्यान्न वितरण सूरु गरिरहेका छन् । कतिपय स्थानीय तहमा भने नाम संकलनकै क्रममा विवाद भएकाले राहत वितरण सूरु नै हुन सकेको छैन । राहत पाउने नाममा राजनैतिक रंग दिने प्रचलनका कारण विवाद बढ्ने गरेको छ ।