बागमती नगरपालिकालाई सामुदायिक वनको २ लाख ६२ हजार सहयोग

700
नगर प्रमुख थापालाई सहयोग रकम हस्तान्तरण गरिँदै । (तस्बिर : उज्यालो अभियान)

बागमती/घनश्याम बलम्पाकी – सर्लाहीको बागमती नगरपालिकालाई नगर क्षेत्र भित्र रहेका सामुदायिक वनहरुले आर्थिक सहयोग गरेका छन् । ६ वटा सामुदायिक वनहरुको तर्फबाट संकलन भएको २ लाख ६२ हजार २८० रुपैंया नगरपालिकाका मेयर भरतकुमार थापालाई मंगलबार बिहान हस्तान्तरण गरिएको छ ।

कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण दुई छाक टार्न अत्यन्त कठिनाईमा परेका विपन्न परिवारलाई राहत वितरणका लागि सामुदायिक वनहरुले नगरपालिका कार्यालयलाई सहयोग गरेका हुन् । जय लक्ष्मिश्वरी ५१ हजार १००, सिद्धेश्वरी ५१ हजार, बागमती ५० हजार ५००, जनजागरण २५ हजार १२५, जयशिवशंकर ३५ हजार र ब्रम्हबाबा सामुदायिक वनले ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको सामुदायिक वन उपभोक्ता बागमती नगरस्तरिय महासंघका अध्यक्ष कृष्ण तुमसिंह मगरले जानकारी दिए । नगरपालिका भित्र ११ वटा सामुदायिक वन भएपनि ५ वटा सामुदायिक वन भने सहयोग गर्ने कार्यका लागि सम्पर्कमै नआएको अध्यक्ष मगरले बताए । लकडाउन लम्बिदै जाँदा आईपरेको विपद्मा खर्च गर्न नगर प्रमुख थापालाई सामुदयिक वनले सहयोग गर्दै जाने अध्यक्ष मगरले प्रतिबद्धता समेत ब्यक्त गरे ।

लकडाउनका कारण निकै कठिनाई झेल्दै आएका दैनिक काम गरेर छाक टार्नुपर्ने परिवारलाई खर्च गरिने विपद्को सामना गर्नका लागि खर्च हुने कोषमा सबै पक्ष, तह र तप्काले यथाशक्य सहयोग गर्ने मनकारी ब्यक्ति एवं संघ सस्थालाई धन्यवाद दिँदै निरन्तर सहयोगका लागि नगरप्रमुख थापाले अनुरोध गरे ।