कोरोना त्रास : सर्लाहीको चन्द्रनगरमा भारतबाट ५ जना नेपाली लुकिछिपी आईपुगे, २२० जना आउने लाईनमा

1340

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारतबाट लुकिछिपी ५ जना छिर्न सफल भएका छन् ।

भारतको उत्तरप्रदेशमा मजदुरी गरिरहेका ५ जना बुधबार राती चन्द्रनगर आईपुगेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । ‘भारतको उत्तरप्रदेशमा मजदुरी गरिरहेका वडा नम्बर ६, कामत टोलाका ५ जना गएराती घर आईपुगेका रहेछन्’, अध्यक्ष महतोले विहिबार दिउँसो उज्यालो अभियानसँग भने, ‘उनीहरुलाई कामत स्थित माविमा स्थापना गरिएको क्वारेन्टाईनमा स्वास्थ्यकर्मीले चेकजाँच गर्ने काम भईरहेको छ, स्वास्थ्य अवस्था शंकाष्पदे देखिए काठमाडौं रिफर गरिहाल्छौं ।’

भारत र नेपाल दुवैतर्फ लकडाउनको अवस्थामा उनीहरु कसरी सिमाक्षेत्रबाट छिर्न सफल भए भन्नेमा आफू अचम्मित बनेको समेत अध्यक्ष महतोले बताए । ‘सर्लाहीको विभिन्न गाउँबाट मजदुरीमा गएका जम्मा २२५ जनाको समूह हिँडेर आईरहेको र त्यसमध्ये फुटेका यी पाँचजना भएको खबर छ’, अध्यक्ष महतोले भने, ‘बाँकी सबैलाई उतै रोकेर भारतकै क्वारेन्टाईनमा नराखे ठूलो त्रासको अवस्था आउने देखिन्छ, उतै रोक्नका लागि म प्रयासरत छु ।’

प्रमुख जिल्ला अधिकारी मोहन जिसीले नेपाल आउन खोजेका ३० जनालाई विहिबार बिहानदेखि भारतीय पक्षले भारतीय बजार सोनवर्षा स्थित क्वारेन्टाईनमा राखिसकेको जानकारी दिए । ‘केन्द्रीय नीति अनुसार नेपाली नै भएपनि भारतीय पक्षले सिमा क्षेत्रमा क्वारेन्टाईन स्थापना गरेर राख्नुपर्ने भएकाले उनीहरुलाई यता आउन नदिई उतै राखिएको हो’, प्रजिअ जिसीले भने, ‘अझै पनि थुप्रै सर्वसाधारण सर्लाही घर आउनका लागि हिँडिरहेका छन रे भन्ने सुनिएको छ, उहाँहरु सबैजनालाई भारतीय पक्षले सिमा क्षेत्रमा निर्माण गरेको क्वारेन्टाईनमा राख्नका लागि त्यहाँका प्रशासन प्रमुखहरुसँग कुरा भईरहेको छ ।’

प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले खुला सिमानाका कारण उखुबारी, धानखेत जस्ता सुनसान स्थान बढी भएको र दशगजामै गाउँ भएकाले पनि ओहोरदोहोरमा पूर्ण रुपले नियन्त्रण गर्न कठिनाई भईरहेको बताए । ‘सुरक्षाकर्मीहरु दिनरात सिमाक्षेत्रमा खटिरहेका छन्’, प्रउ पोखरेलले भने, ‘कतिपय ठाउँमा त बस्तुबाख्रा चराउन नै यताका बासिन्दा उता तथा उताका यता ल्याउने गरेका छन्, अनि सुनसान स्थान र दशगजामै गाउँ भएकाले पनि पूर्ण रुपले रोक्नका लागि समस्या भईरहेको छ, तथापी निगरानी बढाउँदै कडाई गरेका छौं ।’

भारतको उत्तरप्रदेश कोरोना भाईरस (कोभिड–१९) संक्रमण बढी भएको राज्यमा पर्दछ ।