कोरोनाको त्रासमा पनि खेतबारीमा ब्यस्त सर्लाहीका किसान

लकडाउनले यतिबेला अन्य क्षेत्र प्रभावित भइरहे पनि सर्लाहीका किसान भने कृषि कर्ममा ब्यस्त रहेका छन् ।

जिल्लाका किसानलाई यतिबेला हिउँदे बाली भित्र्याउने चटारो परेको छ । अहिले गहँु, मसुरो, चना, खेसरी, केराउ लगायतका बाली भित्र्याउन किसानलाई भ्याइनभ्याइ परेको हो । लकडाउनले गर्दा खेतबारीमा काम गर्ने मानिस पाउन भने मुस्किल परिरहेको किसानले गुनासो गरेका छन् ।


अहिलेको चर्को घाममा पाकेको बाली तत्कालै नभित्र्याए नष्ट भएर जाने भएकाले जसोतसो कामदार जुटाएर किसानले हिउँदे बाली भित्र्याइ रहेका ईश्वरपुर नगरपालिका–१०, बेला गाउँका शिक्षक नाथुराम चौधरीले जानकारी दिए । उनका अनुसार अहिले विशेष गरी किसानहरु गहुँ बाली भित्र्याउन ब्यस्त छन् । लकडाउनले गर्दा यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा गहुँ झार्ने थे्रसर कम पाएको किसानले गुनासो गरेका छन् ।
मौसमले साथ दिएका कारण यस वर्ष सर्लाहीमा गहुँ उत्पादन बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका कृषि प्रसार अधिकृत देवानन्द रायले बेला–बेलामा वर्षा भएको, हावाहुरी नचलेको र असिना नपरेका कारण यस वर्ष जिल्लामा गहुँ उत्पादन बढेको बताए ।
लकडाउन अनिश्चित रहेकाले जिल्लाका सबैजसो किसान अहिले गहुँ लगायत हिउँदे बाली थन्काउन ब्यस्त रहेका कृषि प्रसार अधिकृत रायले बताए ।