धनकौल गाउँपालिकाले बाँड्यो ५५ हजार मास्क

सर्लाहीको धनकौल गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) लाई मध्यनजर गरी गाउँपालिकाभित्र ५५ हजार थान मास्क र १० हजार थान साबुन वितरण गरेको छ ।
प्रदेश सभा सदस्य विरेन्द्र सिंहसँग समन्वय गरी गाउँपालिकावासीलाई सो परिमाणमा मास्क र साबुन प्रदान गरिएको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले दावी गरे । यस्तै गाउँपालिकाभित्रका प्रत्येक वडाको मुख्य–मुख्य चोकमा हात धूनका लागि बाल्टिन र साबुन राखिएको धनकौल गाउँपालिका कार्यालयले जनाएको छ ।
यस्तै प्रदेश सभा सदस्य सिंहले रामनगर र बसबरिया गाउँपालिकामा पनि मास्क तथा साबुन वितरण गर्ने तयारी भइरहेको बताए । उनले विश्व जगतमै महामारीको रुपमा देखा परिरहेको कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि पार्टीले घोषणा गरेको सहयोग रकममा आफ्नो तर्फबाट थप रकम प्रदान गर्ने उद्घोष समेत गरेका छन् ।