लकडाउन, विद्यार्थी र सिनेमा

643
लेखक गिरिराज राना ।

– गिरिराज राना
म पेशाले शिक्षक, धेरै समय अध्ययन र अध्यापनमा ब्यस्त रहन्छु । हप्ताभरिको कामले थाक्नु नयाँ कुरा भएन त्यसैले पनी बिदाका दिनहरूमा युट्युब र टोरेन्टबाट डाउनलोड गरेर भने पनि चल्तीका सिनेमाहरु हेर्ने गर्छु, सम्भव भए सम्मका चल्तीका गीतहरू पनि सुन्ने गर्छु । यद्यपि कतिपय साथीहरूले सिनेमालाई प्राथमिकता दिदैनन तर त्यो वहाँहरुको कुरा हो ।

कहिलेकाही त एकदिन मै तिनवटा सम्म सिनेमा हेर्नेगर्छु । यसरी हेरिरहदाँ आँखा पनी थाक्दा रहेछन त्यसैले कहिले हप्तौं पनि हेर्दिन । प्राय फुर्सदको समय बिताउन म साथीहरू संग गफ गर्छु, गीत सुन्छु, सिनेमा हेर्छु र पुस्तक पढछु । यी सबै कुराको रमाइलो आफ्नो ठाउँमा छ ।

सिनेमा हलमा हेर्नजस्तो गजब त अरु ठाउँमा हुन्न तर काम, समय र पेशा लगायतका बिभिन्न कारणहरुले सधै हलहरुमा जान संभव नहुने रहेछ । फेरि महिनामा ४ वटा सिनेमा हेर्न हलमा जाँदा फरक पर्दैन तर प्रायस् महिनामा १०/१५ भन्दा बढी नै हेरिन्छ । हलमा जान पनी साध्य नहुने । ब्लु-रे र हाइ डेफिनेशन प्रिन्टमा हेर्दा घरमै पनी रमाइलै हुन्छ । म कथा, अभिनय नराम्रो भएको फिल्म हेर्नसक्छु तर प्रिन्ट राम्रो नभएको चाँहि सक्दिन ।

मैले सर्वप्रथम हेरेको चलचित्र ‘के घर के डेरा’ हो । त्यतिखेर म ५ वर्षको थिएँ । पात्रहरु त त्यति थाहा भएन तर गीत चाहिँ रमाइलो लागेको थियो । ‘हे भगवान मेरो खल्तिको घाउ……., भिमेश्वरको मेला…..त्यतिबेलाका चल्तीका गीतहरु हुन । विद्यालय पढ्दा पनि धेरै शनिबारहरु म सिनेमा हेर्ने गर्थें । एकाधपटक स्कुल बङ्क गरेर पनि सिनेमा हेर्न गएको अनुभव छ । त्यसबेलाको मनोरञ्जनको साधन भनेकै सिनेमा र फूटबल थियो । सिनेमा र फूटबलको लागी हामी चपुर, बर्दिबास, लालबन्दी, ढल्केबर, पथलैया र बिरगंज सम्म पुग्थ्यौँ ।

सानो हुँदा हाम्रो लागी बलिवूडका मिथुन चक्रवर्ती, अमिताभ बच्चन,श्रीदेवी, माधुरी दिक्षित प्रीय पात्र थिए । नेपाली सिनेमाका भुवन केसि, शिव श्रेष्ठ, सरोज खनाल, कृस्टी मैनाली, करिस्मा मानन्धर, गौरी मल्ल उत्तिकै राम्रो लाग्थ्यो । उनिहरुको डान्स र द्वन्दका दृश्यबाट हामी प्रभावित हुन्थ्यौँ । कक्षा ४ मा पढ्दै गर्दा राजेश हमालको पहिलो चलचित्र ‘युगदेखी युग सम्म’आएको थियो । यो सिनेमालाई मैले दोहोर्‍याएर हेरेको थिएँ । यसको प्रमुख कारण राजेश हमालको स्वरुप मिथुन चक्रवर्तीको जस्तो देखिन्थ्यो भनेर सिनेमा पारखिहरुले भन्ने गर्थे ।

यसबीचमा थुप्रै सिनेमाहरु हेरियो । फेरि भेटौला, तिलहरी, मनकामना, चिनो, देउता, सिमारेखा, ठुल्दाइ कुनै समयका प्रख्यात नेपाली सिनेमाहरु हुन । कतिपय सिनेमाको टिकट काट्न पनि लिगलिगे कोटमा दौडेर जिते कै बराबर हुन्थ्यो ।

त्यसैगरी शोले, मोहरा, दिलवाले, राजु बनगया जेन्टलम्यान, दिल, मैने प्यार किया, हम, थानेदार, तेजाब, अलिबाबा और चालीस चोर, बनारसी बाबू, जुड्वा, शोले जस्ता हिन्दी सिनेमालाई मात्रै अहिले सम्झन सकेँ । टेलिभिजनमा शनिवार प्रशारण हुने सिनेमाहरु पनि प्रायः हेरिन्थ्यो ।

एसएलसि परिक्षाको अन्तिम दिन साथीहरूसंग सल्लाह गरेर लालबन्दीमा सिनेमा हेर्न गएका थियौं । दुर्भाग्य एउटा हलमा नेपाली सिनेमाको टिकट काट्न नसकेपछि अर्को हलमा पुगेर हिन्दी सिनेमा बनारसी बाबूू हेरेर फर्केका थियौँ । यो २०५४ सालको कुरा हो ।

एसएलसी सकेपछि भने मैले घुम्ने अवसर पाएँ । नेपालकै विभिन्न ठाउँमा जाने मौका पाँए । पोखरा, काठमाडौ, बिराटनगर, बिर्तामोड, धरान, बुटवल, भैरहवा, धनगढी लगायतका ठाउँमा पुगे । त्यसबेला पुर्वको मेची देखि पश्चिमको महाकाली सम्म यात्रा गरियो । त्यसै अवसरमा बिरगंज पुगेर हेरेको नेपाली चलचित्र भने ‘अल्लारे’ हो । ‘रातो टीका निधारमा टलक्क टल्कियो…..त्यसबेलाको चर्चित गीत हो । यसको रिमेक पनि भर्खरै बजारमा आएको छ । जुन अझै राम्रो बनेको छ ।

राजधानीमा गएर हेरेको पहिलो चलचित्र ‘भुलभुलैया’ हो । २०६३ ताका विश्वविद्यालय पढ्दैगर्दा उक्त सिनेमा हेरेको थिएँ ।पछिल्लो समय सिनेमा हलमा गएर हेरेको चलचित्र भने बागी-३ हो, यद्यपि यो पहिलो र दोस्रो भाग जत्ती सशक्त छैन ।

अघिल्लो वर्षदेखि सिनेमाको रिभ्यु हेरेर मात्र म सिनेमा हेर्न लागेको छु । हिरो बेस्ड मुभि भन्दा क्यारेक्टर बेस्ड मुभी मन पराउँछु । अर्थात अलिक चुजी भएको छु । प्रायस् नेपाली, हिन्दी सिनेमा हेरिरहने म हलिवूडका सिनेमा हेर्ने पनि बानी लगाउदै छु । जोकर, शप लिफ्टिङ, व्हाट हयाप्पेन्ड टु मन्डे, फरेस्ट गम्प, अवतार, स्लमडग मिलिनियर, क्यासिनो रोयल, साल्ट, दि ब्याटल अफ जाङसारी, ब्ल्याक हक डाउन, रेभिनेन्ट, इन्सेप्सन, दि वन्डर वुमेन, दि होस्ट, टर्मिनेटर, ट्र्याङ्गल लगायतका हलिवुड सिनेमाहरु एकपटक हेर्नै पर्ने सिनेमाहरु हुन ।

त्यस्तै बलिवुडका सिनेमाहरुमा स्वदेश, रंग दे बसन्ती, चक्दे इन्डिया, टास्कन फाइल्स, स्त्री, ट्र्याप्ड, मेरि कोम, दङ्गल, क्विन्स, लुटेरा, पिङ्क, माझी दि माउन्टेन, गलि ब्वाय,पि के, ट्वाइलेट एक प्रेम कथा, उड्ता पन्जाब, बधाई हो, छिचोरे लगायतका सिनेमालाई मनोरन्जन मात्रै दिदैनन, जिवनमा केही गर्नुपर्छ र दुस्खद अवस्थामा पनि संघर्ष गर्नुपर्छ भन्ने सन्देश दिन्छ । नेपाली सिनेमामा पनि केही राम्रा सिनेमाहरु बनेका छन । बसन्ती, मुनामदन, किर्तिपुर, बलिदान, सिमारेखा, भानुभक्त, झोला, दक्षिणा, सेतो बाघ, बसाई, सिरिसको फुल , तीन घुम्ती, पशुपति प्रसाद, आमा जस्ता सिनेमाले नेपाली समकालीन इतिहासलाई देखाउने प्रयास गरेको छ ।

‘नुमाफुङ’ र ‘मुखुण्डो’ मौलिक धारका नेपाली सिनेमाहरु पनि विश्वस्तर कै छन । अहिले हाम्रोमा केही दर्शकको जमात लुट, कबड्डी, टलकजंग टुल्केजस्ता बलिया र मौलिक लाग्ने कथानकमा झुम्मिन मन पराउन थालेका छन् भने ‘नाई नभन्नु ल’, ‘कोहिनूर’ जस्ता सिनेमाका चालु संवेदना मन पराउने दर्शकको उपस्थिति पनि बाक्लै छ । एकथरिले चर्चित ‘आख्यान’ मा सिनेमा बन्नुपर्छ भन्ने आग्रह राख्दै आएका छन् भने सिनेमाको ‘आफ्नै’ आख्यान हुन्छ भन्ने मत सिने विश्लेषकले राख्दै आएका छन । यो बहस सार्थक छ किनकि प्रकाशित आख्यानमा ‘द गड फादर’, ‘गन विद द विन्ड’ , ‘द फिलाडेल्फिया स्टोरी’, ‘टु किल अ मोकिंगबर्ड’, ‘पाथेर पांचाली’, द ग्रेट ग्याट्सबी, शिन्डलर्स लिस्ट जस्ता हजारौँ कालजयी सिनेमा बनेका छन् ।

त्यस्तै ‘सिटिजन केन’, ‘चाइना टाउन’, ‘कासाब्लान्का’, ‘मि।स्मीथ गोज टु वाशिंगटन’, ‘द एडबेन्चर अफ रविनहुड’, र ‘द पियानो’ जस्ता स्वतन्त्र कथामा निर्मित कालजयी सिनेमाहरु हुन। राजनिति गर्ने अझ सरकारी ओहदामा बस्नेहरुले हेर्नै पर्ने हिंदी मुभि ‘खट्टा मिठ्ठा’, ‘नायक’, ‘तास्कन फाइल्स’ र राजनैतिक आन्दोलनमा लागेकाहरुले आन्दोलन बुझ्न हेर्नूपर्ने हिंदी मुभी ‘सगिना’, ‘रेड अलर्ट’ हो । यो मेरो निजि बिचार हो, सबै हुनै पर्छ भन्ने छैन ।

यसैगरी पुरानो हिन्दी मुभि ‘वागवान’ले पनि पारिवारिक प्रेम कस्तो हुनुपर्छ भन्ने देखाएको छ । जिवनीमा आधारित सिनेमामा दासढुङ्गा, गान्धी, भगत सिंह जस्ता सिनेमाले पनि इतिहासलाई बुझ्न्न सहयोग गर्छ । कोठामा फिल्म हेर्दा प्रायस् २-३ वटा कुराहरु हुनुपर्छ । फ्रिजमा कोल्ड ड्रिङकसहरु छन भन्ने निश्चितता, अनी झ्यालहरुमा कालो पर्दा हालेर कतैबाट प्रकाश नछिर्ने बनाइसकेपछि कोठा अन्धकार भएपछि साउण्ड सिष्टम चेकिङ (साना ३ वटा स्पिकरहरु) अनी फिल्म शुरु ।

हल्ला र छलफल हुनेहुनाले फिल्म हेर्ने कामचाँहि प्रायस् एक्लै गर्दा पात्र सङ्गै कुद्न सकिन्छ । पर्दामा सृजित संसार अनी आफुले आफैलाइ बिर्सेर त्यही संसारको एउटा पात्र हुनुको आनन्द म यहाँ लेख्न सक्दिन । आज प्रबिधी, आय-आर्जन, स्थान हरेक कुराले सिनेमाहरु काखे ल्यापटपमा आइपुगे तर पहिला यति सहज थिएन । अरुको घरमा गएर हेरेका टेलिभिजनका सिनेमाहरुले म भित्र फिल्मको अम्मल पसाएका हुन ।

घरमा चाँही खै किन हो, सिनेमा हेर्नुलाइ राम्रो मानिन्नथ्यो । सिनेमाका नायिकाहरुले देखाउने स्तन अनि नायकहरुका पाखुरा आदिले सिनेमालाइ अश्लिलताको नजिक या छोरो बिगार्नसक्ने तत्व भएको पदार्थ मानिन्थ्यो । तर जे होस, समयले जे कुरासँग डरायो त्यसैलाइ प्यासन बनाउँदोरहेछ । अब सिनेमा जीवनको अभिन्न अंग बनिसकेको छ एउटा अम्मलजस्तो जुन सहजै त्याग्न सकिन्न ।

धेरै विद्यार्थी र शिक्षक साथीहरूलाई म राम्रा सिनेमा हेर्न सल्लाह दिन्छु । समय बदलिएको छ, अहिलेका बिद्यार्थीलाई हामी साँघुरो चौघेरामा राख्न सक्तैनौ । पूरा विश्व नै गुगल भित्र सङ्कुचित भएर अटाएको बेला, उनीहरुलाई बन्देज लाउनु मुर्खता मात्रै हो । विद्यार्थीका लागि ज्ञानको नवीनतम माध्यम र स्रोत कुनै बेला किताब मात्रै थियो । नयाँ ज्ञान सिक्न बालबालिकाहरूले किताबका पानाहरू पल्टाउनुपर्थ्यो, त्यसका लागि स्कुल अनिवार्य जानुपर्थ्यो । प्रविधिमा आएको क्रान्तिले किताबबाट धेरै फड्को हानिसकेको छ । मोबाइल फोनहरू र कम्प्युटरका पर्दाहरूले सिकाइका अनेक पर्दाहरू उघारिरहेका छन् । बरु त्यसको ठाउँमा उपयुक्त गीत, सिनेमाको छनोट गरिदिनुपर्छ । त्यो अभिभावक र शिक्षकको पनि कर्तब्य हो ।

यसै त विद्यार्थीहरुलाई अडियो भिजुअल सामग्रीले छिट्टै आकर्षित गर्दछ । कक्षा ९, १०, ११ र क्याम्पस तहमामा अध्यापन गराउँदा नेपाली सिनेमा झोला, सामाजिक शिक्षणको लागी, बसन्ती, सेतो बाघ, मुना मदन र कक्षा १२ को ऐच्छिक अङ्ग्रेजीको लागी ‘द ग्रेट ग्याट्स्बी’, क्याम्पस तहमा द गुड अर्थ उपयुक्त सिनेमाहरु हुन । यी सिनेमाहरु हेरिसकेपछी आफूलाई मनपर्ने सिनेमाको रिभ्यु लेख्न र तत्कालीन समयमा भएको घटनाको बारेमा जानकारी विद्यार्थीहरुले सजिलै प्राप्त गर्दछन ।

अहिले देशमा स्वास्थ्य सम्बन्धि सङ्कटकाल सुरु भएको छ । लकडाउनको कारणले बाहिर हिडडुल गर्ने अवस्था छैन । कोरोना भाइरसको प्रभावले धेरै जना घरमै छौँ । यस्तो अवस्थामा दिन बिताउन मुस्किल परिरहेको छ । धेरै विद्यार्थी भाइबहिनी, अभिभावक र शिक्षक साथीहरू पनि के गरौं के नगरौं भन्ने दोधार स्थितिमा हुनुहुन्छ । दिन काट्न भने पनि राम्रो गीत सुन्ने, राम्रो सिनेमा हेर्ने मानसिकता बनाउनु भएको छ । कतिपय विद्यार्थीहरु गीत सुन्नुहुन्छ र कतिपय विद्यार्थीहरु सिनेमा पनि हेर्नुहुन्छ । लकडाउनको कारणले घरमै हुनुहुन्छ ,बोर हुनु भो । चिन्ता नमान्नुस ।

सिनेमाका पारखी विद्यार्थी भाइबहिनीहरुले माथि उल्लेख गरिएको सिनेमा संगसंगै थ्री इडियट्स, तारे जमिन पर, आरक्षण, पाठशाला, फाल्तु, आइ एम कलाम, चल्क एन्ड डस्टर, हिन्दी मेडियम, व्हाइ चिट ईन्डिया, हिच्कि, द फर्स्ट वर्ल्ड वार, मिसन मङ्गल लगायतका सिनेमाहरु हेर्नुहोस, यो साह्रै नै उपयुक्त हुन्छ । त्यसैगरी वन हन्ड्रेड बिसि, रेभिनेन्ट, क्लियोपेट्रा जस्ता हलिवुड सिनेमाले पनि युरोपियन इतिहास बुझ्न सहयोग पुर्याउछ ।

खुसी हुन सिक्ने भनेकै दुःख र आतंकका बेला हो । यस्तो अवस्थामा चेतना र सूचना फैँलाऔँ । त्रास नबाडौँ । सकारात्मक सन्देस दिनेखालका काममा ध्यान दिऔँ।आफूलाई मन परेका सिनेमा हेर्न र मन परेका पुस्तक पढ्न अरुलाई प्रेरित गरौँ । कोरोनाले भीडभाड निषेध गर्न सक्ला, हाम्रो उर्जा, र सिर्जनामा रोक लगाउन कहाँ सक्ला र ! (लेखक राना महादेव जनता माविका शिक्षक हुन्)