
घनश्याम बलम्पाकी/बरहथवा – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका शंकाष्पद सर्वसाधारणलाई राख्नका लागि बरहथवा नगरपालिका कार्यालयले २० बेडको क्वारेन्टाईन सञ्चालनमा ल्याउने भएको छ ।
भारत वा तेस्रो मुलुकबाट आएका शंकाष्पद सर्वसाधारणलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नका लागि क्वारेन्टाईन सञ्चालनमा ल्याउन लागिएको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले जानकारी दिए । बरहथवा नगरपालिका–१५, सुन्दरपुर चोहर्वा स्थित स्वास्थ्य केन्द्रको भवनलाई क्वारेन्टाईन रुपमा सञ्चालनमा ल्याउन लागिएको हो । बेडहरु तयार भइसकेको र शुक्रबार साँझसम्ममा सम्पूर्ण व्यवस्थापन सकिने मेयर महतोले जानकारी दिए ।
केही दिन अघि नगरपालिका कार्यालयमा बसेको मेयर महतो प्रमुख प्रशासकीय अधिकृत खिमबबहादुर भुजेल इलाका प्रहरी कार्यालयका प्रहरी नीरिक्षक राजेन्द्र यादव सहित नगरपालिकाको स्वास्थ्य शाखाका सरकारी एवं निजी स्वास्थ्यकर्मी र सरोकारवालाहरुको बैठकले कोरोना संक्रमणबाट बच्नका लागि अपनाउनु पर्ने उपाय एवं स्वास्थ्यकर्मीहरुको भूमिका बारेमा पनि विभिन्न निर्णयहरु गरेको छ । सोही अवसरमा मेयर महतोले नगर क्षेत्र भित्र रहेको स्वास्थ्यचौकी एवं अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि सुरक्षार्थ आवश्याक सामग्री प्रदान गरेका छन् ।
उपचार्थ खटिएका स्वास्थ्य कर्मिका लागि आवश्यक टाउको देखि तल खुट्टासम्म ढाक्ने प्लाष्टिकको पीपीई अभाव रहेकाले तत्काल उपलव्ध गराउने प्रयास भइरहेको मेयर महतोले जानकारी दिए । त्यस्तै कोरोना संक्रमणबाट बच्न सचेतनाका लागि गाउँ गाउँमा माइकिङ गर्ने काम भइरहेको छ । यस संकटको घडीमा मेयर महतोले सम्पूर्ण नगरवासीहरुलाइ लकडाउनको पूर्णरुपमा पालना गर्न अनुरोध समेत गरेका छन् । ‘कसैले लकडाउनको उलंघन ग¥यो भने प्रहरीले कार्वाही गर्छ, यस बिषयमा कुनै किसिमको सम्झौता हुने छैन् ।’ उनले भने । तेस्रो मुलुक र भारतबाट आएकाहरुको खोजी भइरहेको समेत मेयर महतोले बताए ।
त्यस्तै बरहथवा नगरपालिका भित्र कुनै समस्या देखिए वा कोरोना संक्रमितको शंका लागेमा वा उपचार व्यवस्थाका लागि भन्नु परेमा सम्बन्धित वडाध्यक्षहरुलाई फोन गर्न समेत आम सर्वसाधारणहरुमा आग्रह गरिएको छ ।