कोरोना भाईरस विरुद्ध गाउँगाउँमा सरसफाईकर्मी

174
साबुन पानीले हात धुने विधि सिकाईदै । (तस्बिर सौजन्य : बागमति सेवा समाज)

हरिवन – कोरोना भाईरस अर्थात कोभिड–१९ विरुद्ध जनप्रतिनिधि एवं सरसफाईकर्मीहरु गाउँ गाउँमा घुमेर सचेतना फैलाउन थालेका छन् । लकडाउनको बेला जिल्ला स्थित विभिन्न दलित गाउँमा पुगेर स्थानीय तहका जनप्रतिनिधिसँगको समन्वयमा सरोकारवाला प्रतिनिधि सहित सरसफाईकर्मीहरुले सचेतना फैलाएका हुन् ।

विहिबार इश्वरपुर नगरपालिकाको दलित वस्ती स्थित घर घरमै पुगेर साबुन वितरण तथा साबुन पानीले हात धुन सिकाउने काम गरिएको वडा नं. ३ का पूर्ण सरसफाई सहजकर्ता मनोज साहले जानकारी दिए । इश्वरपुर नगरपालिका र बागमती सेवा समाज नेपाल हरिवनद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रम अन्तर्गत ४ हजार घरधुरीलाई १–१ वटा साबुन वितरण गरिएको छ ।

सरसफाईको क्षेत्रमा क्रियाशिल बागमती सेवा समाजले पछिल्लो समयमा स्थानीय तह र स्थानीय प्रशासनसँग समन्वय गरी माइकिङको माध्यमद्वारा कोरोना भाईरसविरुद्ध सचेतना मूलक सन्देशहरु प्रवाह गरिरहेको छ । बासबरिया गाउँपालिकाका पूर्ण सरसफाई संयोजक रामलखन मुखियाले गाउँ गाउँमा त्यस्तो अभियान चलिरहेको जानकारी दिए ।

बागमती सेवा समाजले जिल्ला स्थित इश्वरपुर र हरिवन नगरपालिका तथा बासबरिया गाउँपालिकामा यसअघि देखि नै पूर्ण सरसफाई कार्यक्रम संचालन गरिरहेको छ । संस्थाका टिम लिडर गजेन्द्र साहले समुदायस्तरमा १ हजार पाँचसय भन्दा बढी व्यक्तिलाई साबुन पानीले हात धुन प्रयोगात्मक रुपमा सिकाईएको दाबी गरे । त्यस्तै घर घरमा साबुन पानी सहितको हात धुने स्थान निर्माण, फोहोरमैला व्यवस्थापन, व्यक्तिगत र घरायसी सरसफाई जस्ता कुरामा ध्यान दिन समेत स्थानीय बासिन्दा समक्ष अनुरोध गरिएको साह बताउँछन् ।

बागमती सेवा समाजका कार्यकारी निर्देशक निरज भण्डारीले लकडाउन पहिले र हाल पनि साबुन पानीले हात धुने लगायत पूर्ण सरसफाईका लागि संस्थाले गाउँ गाउँमा पुगेर सचेतनामूलक कामहरु गरिरहेको बताए । त्यस्तै कोरोना भाईरस विरुद्ध जिल्ला प्रशासन कार्यालय मलंगमा समेत हेल्थ डेस्क स्थापना गरी इन्फ्रारेटेड थर्मामिटरको माध्यमबाट ७१४ जनाको तापक्रम नाप्नुका साथै सेनिटाईजर, मास्क वितरण जस्ता काम गरिएको भण्डारीले जानकारी दिए ।

लकडाउनको बेलामा अत्यन्त पिछडिएका दलित गाउँहरुमा पुगेर कोरोना भाईरस विरुद्ध लड्नका लागि साबुन वितरण एवं साबुन पानीले हात धुन सिकाउने, पूर्ण सरसफाईको बारेमा सचेतना जगाउने जस्ता कार्य गरेर संस्थाले निकै टेवा पु¥याएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।