संक्रमित युवती चढेकै प्लेनबाट आएका एक युवक सर्लाहीको पिपरियामा फेला

2128

केही दिन हरिवन ससुराली घरमा समेत बसेको खबर

हरिवन – कोेरोना भाईरस (कोभिड–१९) संक्रमित युवतीसँगै कतार एयरवेजको विमानबाट आएका एक युवा सर्लाहीमा फेला परेका छन् ।

कविलासी नगरपालिकाको पिपरिया गाउँका ती युवा पनि कतारबाट युवती सवार प्लेनबाटै गत चैत ४ गते काठमाडौं झरेका थिए । ती युवाको घरलाई बुधबार साँझबाट जिल्ला स्थित सुरक्षा निकायले ‘सिल’ गरेको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका एसपी दिलिप सिंह सहित सुरक्षा अधिकारी एवं स्वास्थ्यकर्मीको टोलीले बुधबार राती १० बजेसम्म युवक सहित घरपरिवारका सदस्यलाई स्वास्थ्य परीक्षण गरेको थियो ।

‘अहिलेसम्म युवकको तथा परिवारको सबै सदस्यहरुको स्वास्थ्य अवस्था सामान्य देखिएको छ’, प्रजिअ जिसीले भने, ‘हाल उक्त घरलाई पूर्ण रुपमा लकडाउन गर्दै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको २४ सै घण्टा निगरानीमा खटाईएको छ ।’ माथिल्लो निकायमा कुरा गर्दा १४ दिनसम्म बाटो हेर्नु र कुनै समस्या देखिए मात्र काठमाडौं पठाउनु भन्ने निर्देशन आएको प्रजिअ जिसीले जानकारी दिए । नगरपालिकाको समन्वयमा स्थानीय गाउँलेहरुको पनि ज्वरो परीक्षण लगायतका लागि स्वास्थ्यकर्मी खटिएको उनले जानकारी दिए ।

काठमााडैं झरेपछि ती युवा हरिवन स्थित ससुराली घरमा समेत बसेको खबर आएको प्रजिअ जिसीले बताए । ‘हरिवन स्थित ससुराली घरमा समेत बसेको भन्ने खबर छ’, प्रजिअ जिसीले भने, ‘त्यो बारेमा पनि बुभ्mने काम भईरहेको छ ।’ ती युवक वैदेशिक रोजगारीका क्रममा कतार गएर फर्केका हुन् ।

६५२ नम्बरको उक्त प्लेनबाट सर्लाही ठेगाना भएका चारजना भएपनि दुईजना भने काठमाडौंमै बसिरहेका प्रजिअ जिसीले जानकारी दिए । ‘दुईजनाको सर्लाही सिसौट ठेगाना भएपनि उहाँहरु पहिला नै काठमाडौं बसाईं सरिसक्नु भएको रहेछ’, प्रजिअ जिसीले भने, ‘अर्का एकजनाको खोजी भईरहेको छ ।’

जिल्लाको लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा एकै परिवारका चारजना गत चैत ४ गते संक्रमित युवती चढेकै कतार एयरवेजको विमानबाट आएको भन्ने कतिपय अनलाईन र सामाजिक संजालमा निराधार समाचार एवं हल्ला भएको थियो । तर ती चारजना नै अर्कै प्लेनबाट आएको पुष्टि भईसकेको छ ।