सैन्य हेलिकप्टरले विषादि छर्कने सूचनाले भ्रम सृजना

327

हरिवन – शनिबार बिहानैदेखि धेरैजनाको फेसबुक म्यासेञ्जरमा अडियो सूचना शेयर हुँदा सर्वसाधारणमा भ्रम सृजना भएको छ ।

सैन्य हेलिकप्टरले शनिबार राती कोरोना भाईरस विरुद्ध विषादि छर्कने अडियो सूचना भाईरल बनेको हो । अडियोमा भनिएको छ, ‘आज विशेष सैन्य हेलिकप्टरहरुले देशभरी आकाशमा कोरोना भाईरस विरुद्ध किटनासक दबाई छर्कन्छन्, त्यसैले रातीको १२ बजेपछि घरबाट भित्र बस्नुपर्छ, घरबाहिर रहेका सबै लुगाहरु हटाउनुहोस्, जब तपाईं राती हेलिकप्टरको आवाज सुन्नुहुन्छ, यो आवाज तपाईलाई था होस्, कोभिड–१९ को लागि किटनाशक औषधी सरकारले छरिरहेको छ भनेर, त्यसैले राती बाहिर सकेसम्म नबस्नोस्, आफनो परिवार र साथिजनलाई शेयर गर्नुहोस् ।’

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले नेपाली सेनाले हेलिकप्टरबाट विषादि छर्कने भन्ने हल्ला निराधार भएको जानकारी दिए । ‘हेलिकप्टरबाट औषधी छर्कनेबारे अहिलेसम्म हामीलाई कुनै जानकारी आएको छैन’, प्रजिअ जिसीले भने, ‘त्यस्तो कार्यक्रम भए हाँमीलाई माथिबाट सूचना आईहाल्थ्यो नि, त्यसैले भ्रममा नपर्न आम सर्वसाधारणलाई अनुरोध गर्दछु ।’ हाल कोरोना भाईरस सम्बन्धमा भ्रम छर्ने काम भईरहेकाले त्यसबारे आउने सूचना, समाचार वा जानकारीबारे सत्यता परिक्षण गर्न प्रजिअ जिसीले आग्रह गरे ।

नेपाली सेनाको पाँचकुमारी स्थित रणशेर गण श्रोतले पनि हेलिकप्टरबाट विषादि छर्कने कार्यक्रम नरहेको बताएको छ । ‘माथि सोध्दा त्यस्तो कुनै कार्यक्रम छैन भन्ने खबर आएको छ ।’, गण श्रोतले भन्यो । आम सर्वसाधारणले आफूलाई आएको त्यस्ताखाले ‘म्यासेज’ वा सूचनाहरु थप बुझ्दै नबुझी तुरुन्त अर्को साथिलाई ‘फरवार्ड’ गर्ने परिपाटीले ‘दिन दुगुना रात चौगुनाको’ दरले भ्रम फैलने गरेको छ ।