शंकास्पद अवस्थाका खयर काठ बरामद

219
बरामद् गरिएका खयरका गोलिया । (तस्बिर : उज्यालो अभियान)

हरिवन – चुरेभेगमा पर्ने सर्लाहीको हरिवन नगरपालिका–९, डुम्रिघारीमा शंकास्पद अवस्थामा रहेको ठूलो परिमाणको काठ बरामद गरिएको छ ।

खयर जातका झण्डै तीन सय क्यूविक फिट अर्थात पाँच सय २२ गोलिया काठ बरामद भएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले जानकारी दिए । डिभिजन वन प्रमुख देव नेतृत्वको वन गस्ती टोली गस्ती गर्दै जाने क्रममा शुक्रवार बिहान बेवारिसे अवस्थामा रहेको काठ फेला पारेको हो । काठ रहेको स्थान वन क्षेत्र वा आवाधी हो ? भन्ने खुल्न सकेको छैन् । बरामद गरिएको काठ वडाध्यक्ष सिताराम पोखरेल सहितको उपस्थितिमा मुचुल्का उठाई स्थानीय शिवेश्वर सामुदायिक वनमा सुरक्षित राखी जाँचबुझ गर्ने तयारी भइरहेको डिभिजन वन प्रमुख देवले बताए । वन गस्ती टोलीले बरामद गरेको कतिपय काठमा टाँचा लगाएको छ भने केही काठ वरिपरी नै काटेको ठूटा समेत फेला परेको छ ।