एकैदिन दुई हजार लिटर घरेलु मदिरा नष्ट

117
चक्रघट्टामा घरेलु मदिरा नष्ट गर्दैै प्रहरी । (तस्बिर : उज्यालो अभियान)

चक्रघट्टा – सर्लाही प्रहरीले सुक्रवार एकै दिन दुई हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिएको प्रहरी टोलीले चक्रघट्टा गाउँपालिका–५ र ८ मा सञ्चालित तीनवटा भट्टी पसलबाट सो परिमाणमा तयारी घरेलु मदिरा बरामद गरेको हो । यस्तै मदिरा बनाउन प्रयोग हुने छ हजार लिटर कच्चा पदार्थ, तीन थान मेसिन, १८ थान फलामको ड्रम, चार थान सिल्वरको ड्रम र ३० थान प्लाष्टिकको ड्रम लगायत मदिरा बनाउन प्रयोग भएका अन्य सामग्री बरामद गरिएको प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिए ।

प्रदेश सरकारले आठवटै जिल्लाका प्रहरीलाई आ–आफ्ना ठाउँका भट्टी पसल भत्काउन निर्देशन दिएपछि सर्लाही प्रहरीले अहिले घरेलु मदिरा नष्ट गर्ने अभियान चलाइरहेको छ । यसक्रममा केही दिनको अन्तरालमा जिल्लाका विभिन्न स्थानमा लुकिछिपी सञ्चालित भट्टी पसल भत्काएर त्यहाँ उत्पादित ठूलो परिमाणको तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिसकेको सर्लाही प्रहरीले जनाएको छ । यसैबीच सर्लाहीको बाँके चौकबाट संग्रामपुरतर्फ गइरहेको यात्रुबाहक बसबाट प्रहरीले शुक्रबार घरेलु मदिरा बरामद गरेको छ । बा. ४ ख ४८८ नम्बर बसलाई ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा रोकेर चेकजाँच गर्दा ५० लिटर घरेलु मदिरा बरामद भएको प्रहरी चौकी गौरीशंकरले जनाएको छ ।
फोटो क्याप्सन ः सर्लाहीको चक्रघट्टामा विषाक्त घरेलु मदिरा नष्ट गर्दैै प्रहरी । (तस्बिर ः उज्यालो अभियान)