आगलागीबाट दुई घर ध्वस्त, नगद दुईलाख समेत जलेको पीडितको दाबी

229
प्रतिकात्मक तस्बिर

विष्णु – सर्लाहीको विष्णु गाउँपालिका स्थित चमार टोलमा शनिबार दुईवटा घर आगलागीबाट ध्वस्त भएको छ ।

बिहान पौने १२ बजे भएको आगलागीबाट वडा नं. ३ मधुवनगोठ गाउँको चमार टोला निवासी तुलाराम चमार र उनका छोरा राम शोभित राम चमारको फुस्को घर जलेर नष्ट भएको हो । घर बनाउनका लागि समूहबाट निकालेको ऋण तथा भारतबाट कमाई गरेर ल्याएको गरी दुई लाख रुपैंया भन्दा बढी नगद समेत जलेको पीडित तुलारामलाइ उद्धृत गर्दै हाम्रा स्थानीय सहकर्मी अकलेश वैठाले जानकारी दिए ।

दुईवटै घरभित्र रहेका लत्ता कपडा, अनाज सबै जलेर नष्ट भएको छ । शरिरमा लगाएको लुगा बाहेक सम्पूर्ण लत्ता कपडा र खाने अनाज तथा पकाउने भाँडाकुडा समेत जलेकाले दुवै परिवारको विचल्ली भएको स्थानीयले बताएका छन् । गाउँलेहरु तथा सुरक्षाकर्मीको सकृयतामा एक घण्टापछि आगो नियन्त्रणमा लिईएकाले थप क्षति हुनबाट जोगिएको बैठाले जानकारी दिए ।