चितायनको लक्ष्मीनाथ सामुदायिक वनमा अवलोकन

107
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी तथा उपस्थित अन्य अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

चितायन – सर्लाहीको हरिपुर नगरपालिका स्थित लक्ष्मीनाथ चितायन सामुदायिक वन क्षेत्रको स्थलगत अवलोकन गरिएको छ ।

हरिपुर–७ स्थित सामुदायिक वन उपभोक्ता समूह र स्थानीय जोताहा किसान बीचको द्वन्द्व रुपान्तरण पछि हाल सामुदायिक वन क्षेत्रमा विविध कार्यक्रमहरु भईरहेको छ । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण शान्तिका लागि साझेदारी कार्यक्रम अन्तर्गत वर्षौंदेखिको विवाद समाधान गर्दै हाल सामुदायिक वनमा पर्यटकीय गतिविधि समेत सूरु भएको रुपान्तरणकी राष्ट्रिय श्रोत व्यक्ति पार्वति विश्वकर्माले जानकारी दिईन् ।

शान्तिका लागि साझेदारी पाचौं चरणको कार्यक्रम अन्तर्गत प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरणको आव्हानमा जिल्ला स्थित जनप्रतिनिधि, प्रहरी प्रशासन प्रमुख लगायत सरोकारवालाहरुको जिल्ला संवाद समितिले स्थानीय बासिन्दासँग अन्तरक्रिया एवं स्थलगत अवलोकन गरेको हो । नजिकै ऐतिहाँसिक चितायन मन्दिर रहेको उक्त स्थानमा प्रचुर पर्यटकीय सम्भावना रहेको अवलोकनकर्ताहरुले बताए ।

१९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन क्षेत्र भित्र हाल एक खेल मैदान, वाल उद्यान, पिक्निक घरहरु निर्माण भईरहेको छ । रुख नै रुखले समेत भरिभराउ सामुदायिक वन क्षेत्रको वाल उद्यान भित्र झुला, पिङ लगायत विभिन्न मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण गरिएको छ । पूर्व सांसद् रामचन्द्र चौधरीको संसदीय विकास कोषको ४० लाख रुपैंया लागतमा विविध पूर्वाधारहरु निर्माण गरिएको र सौन्दर्यता बढाउन डिपिआर समेत तयार भईसकेको सामुदायिक वनका अध्यक्ष जिवस धामीले जानकारी दिए ।

दिउँसो हरिपुर नगरपालिकाका प्रमुख जमिरुद्धिन मन्सुरको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतले विचार व्यक्त गरेका थिए । राष्ट्रिय श्रोत व्यक्ति पार्वती विश्वकर्माको सञ्चालन रहेको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पराजुली, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, कोष तथा लेखा नियन्त्रक जगतप्रसाद थपलिया लगायतको उपस्थिती रहेको थियो । स्थानीयले फूलमाला लगाएर अवलोकनकर्तालाई सम्मान गरेको कार्यक्रममा सामुदायिक वनका अध्यक्ष जिवस धामीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा समापन मन्तव्य राख्दै हरिपुरका प्रमुख मन्सुरले उक्त क्षेत्रलाई नगरपालिकाले जिल्लाकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

मंगलबार बिहान सदरमुकाम मलंगवामा सम्पन्न प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण शान्तिका लागि साझेदारी पाचौं चरणको कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय संवाद समितिको बैठकले सामुदायिक वन क्षेत्रको स्थलगत अवलोकन गर्ने निर्णय गरेको थियो ।
फोटो क्याप्सन ः कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी तथा उपस्थित अन्य अतिथिहरु । (तस्बिर ः उज्यालो अभियान)