हजरियामा विद्यालय समिति चयन गर्न मतदान हुने

102

बरहथवा – ७ वर्षदेखि व्यवस्थापन समितिविहिन रहेको सर्लाहीको बरहथवा नगरपालिका–३, हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन गर्न निर्वाचन हुने भएको छ ।

पटक–पटक बसेको अभिभावक भेलाबाट व्यवस्थापन समितिमा रहने सदस्यहरुमा सहमति जुट्न नसकेपछि निर्वाचन गरेर सदस्य छान्न लागिएको हो । त्यसका लागि मंगलवार उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । विद्यालय व्यवस्थापन समितिको चार जना सदस्यको लागि १७ जनाको उम्मेदवारी परेको विद्यालयले जनाएको छ । १० जना पुरुष र सात जना महिलाले सदस्य पदको लागि उम्मेदवारी दिएका हुन् ।

मंगलवार मनोनयन दर्ता गराएका उम्मेदवारहरु मध्येबाट चार जना सदस्य चयन गर्न यही चैत २२ गते निर्वाचन गर्ने सहमति भएको छ । निर्वाचनमा विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म अध्ययरत विद्यार्थीका अभिभावकले मतदान गर्ने छन् । व्यवस्थापन समितिको सदस्यमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांगे्रसले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् भने कांगे्रसको असन्तुष्ट अर्को पक्ष र अन्य केही राजनीतिक दलले बेग्लै समूह खडा गरेर उम्मेदवारी दिएका बुझिएको छ । शिक्षा नियमावली अनुसार अभिभावक भेलाबाट सुरुमा ४ जना सदस्य चयन गर्ने, त्यही समितिले शिक्षापे्रमी र जग्गादाता वा समाजसेवीबाट एक–एक जना गरी दुई जना सदस्य मनोनयन गर्ने, वडाध्यक्ष वा उसले तोकेको व्यक्ति सदस्य, विद्यालयकै प्रधानाध्यापक सदस्य सचिव र एक जना शिक्षक प्रतिनिधि व्यवस्थापन समितिको सदस्य हुने प्रावधान छ ।

तर अभिभावक भेलाबाट चयन गर्नुपर्ने ४ जना सदस्यमै विवाद भएपछि मतदानबाट सुरुमा उनीहरुको टुङ्गो लगाउन लागिएको हो । राजनीतिक सहमति जुट्न नसक्दा विद्यालय वर्षौदेखि व्यवस्थापन समितिविहिन भएको भन्दै स्थानीय वासिन्दाले चिन्ता व्यक्त गर्दै आएका छन् ।