नेकपा एकिकरण : पूर्व माओवादी धमाधम छान्दै, पूर्व एमालेमा सकस

401

हरिवन – सर्लाहीमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पालिका स्तरमा एकिकरणको प्रकृया अगाडी बढेको छ । एकिकरणका क्रममा पूर्व माओवादी भने आफूले पाएको स्थानीय तहमा धमाधम नेतृत्व चयन गरिरहेको छ भने पूर्व एमाले मित्र सकस देखिएको छ ।

केही दिनअघि जिल्ला स्थित सर्लाहीका २० स्थानीय तहमध्ये १४ वटामा पूर्व माओवादी केन्द्र र ६ वटामा पूर्व नेकपा एमालेले नेतृत्व गर्ने सहमति भएको थियो । जिल्ला स्थित ८ जना केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र सचिवको उपस्थितिमा भएको छलफलबाट यस्तो किसिमको समझदारी जुटेको हो । पालिका स्तरमा पार्टी एकीकरण गर्ने क्रममा स्थानीय तह निर्वाचनमा प्राप्त जनमतको आधारमा एकीकरण गर्ने समझदारी जुटेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए ।

सहमति अनुसार लालबन्दी, ईश्वरपुर, हरिपुर, हरिवन, मलंगवा र कविलासीमा पूर्व एमालेबाट अध्यक्ष चयन गरिने भएको छ । बाँकी १४ वटा अर्थात बागमती, बरहथवा, बलरा, गोडैता र हरिपूर्वा नगरपालिका एवं धनकौल, बसबरिया, रामनगर, विष्णु, कौडेना, पर्सा, ब्रम्हपुरी, चन्द्रनगर, चक्रघट्टा गाउँपालिकामा पूर्व माओवादीबाट अध्यक्ष हुनेछन् । पूर्व एमालेको अध्यक्ष रहने ठाउँमा पूर्व माओवादीबाट सचिव र पूर्व माओवादीको अध्यक्ष हुने ठाउँमा पूर्व एमालेबाट सचिव चयन गरेर प्रदेश कमिटीमा सिफारिस गरिने नेकपा सर्लाहीले जनाएको छ । सर्वसम्मत हुन नसकेका पालिकाहरुबाट दावेदारहरुको नाम प्रदेशमा सिफारिस गर्ने र सहमति जुटेको स्थानमा भने जिल्लाबाटै अध्यक्ष र सचिवको टुंगो लगाउने समझदारी भएको नेकपा सर्लाहीका सचिव कमल वुढाथोकीले बताए ।

पूर्व एमालेमा सकस

यसैबीच पूर्व एमालेको भागमा परेका ६ वटा पालिकामा यो समाचार तयार पार्दासम्म सर्वसम्मत अध्यक्ष चयन हुन सकेको छैन । हरिवन नगर कमिटीको अध्यक्षमा पाँचजनाले दाबी गरेका छन् । गत सोमबार हरिवनमा भएको छलफलका क्रममा एमालेका पूर्व नगर अध्यक्ष चुडामणि वाग्ले, पूर्व नगर संयोजक विदुरकुमार प्याकुरेल, हरिवन नै निवासी जिल्ला कमिटी सदस्य उत्तरकुमार मैनाली, रामहरि प्रसाई र रामप्रसाद घिमिरेले नेकपाको नगर अध्यक्षमा दावी गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपाने, नेकपाका जिल्ला अध्यक्ष रेवती पन्त, प्रदेश कमिटी सदस्य राजकुमार उपे्रती र तारा पोखरेल एवं हरिवन भूगोल भएका जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा छलफल भएको हो । चूडामणि वाग्ले र विदुर प्याकुरेल पार्टीका वरिष्ठ नेता झलनाथ खनालका अत्यन्त विश्वासपात्र जिल्ला अध्यक्ष रेवती पन्त निकट मानिन्छन् भने उत्तर कुमार मैनाली प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली लाईनका हुन् । रामहरि प्रसाईं र रामप्रसाद घिमिरे पनि ओली निकट रहेको कार्यकर्ताहरु बताउँछन् । सर्वसम्मत हुन नसकेपछि हरिवन अध्यक्षका लागि पाँचै जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला अध्यक्ष पन्तले जानकारी दिए । पूर्व एमालेले यो समाचार तयार पार्दासम्म बागमती नगरपालिकामा मात्र सचिव टुंग्याएको छ । बुधबार बिहान बसेको बैठकले बागमती नगरपालिकामा शंकरपुरका टंकबहादुर बस्नेत (गोकुल) लाई सर्वसम्मत सचिव चयन गरेको जिल्ला अध्यक्ष पन्तले जानकारी दिए ।

पूर्व माओवादी धमाधम छान्दै

पूर्व माओवादी भने आफूले पाएको स्थानीय तहमा धमाधम नेतृत्व चयन गरिरहेको छ । सर्वसम्मत रुपमा धमाधम नेतृत्व चयन भईरहेको पूर्व माओवादीका जिल्ला अध्यक्ष कमल बुढाथोकीले जानकारी दिए । सम्बन्धित स्थानीय तह भूगोल भएका जिल्ला कमिटी सदस्यहरुको बैठकले सर्बसम्मत रुपमा धमाधम नेतृत्व तोक्ने काम गरिरहेको बुढाथोकीले बताए । माओवादीले यो समाचार तयार पार्दासम्म ९ स्थानीय तहमा नेतृत्व चयन गरिसकेको छ ।

बुढाथोकीका अनुसार गोडैता नगरपालिकामा अनिता देवी यादव, बलरा नगरपालिकामा महेन्द्र राय, विष्णु गाउँपालिकामा अञ्जु बैठा, कौडेना गाउँपालिकामा महादेव साह र पर्सा गाउँपालिकामा सुधिर झालाई अध्यक्ष तोकिएको छ । त्यस्तै हरिवन नगरपालिकामा अर्जुन पन्त, लालबन्दी नगरपालिकामा लेखराम जर्गा मगर, हरिपुर नगरपालिकामा सुनिल बुढाथोकी र मलंगवा नगरपालिकामा मनोज सहनीलाई सचिव तोकिएको बुढाथोकीले जानकारी दिए । अन्य स्थानीय तहमा पनि नेतृत्व छान्नका लागि छलफल भईरहेको बुढाथोकीले बताए ।