सर्लाहीमा विभिन्न स्थानमा सवारी दुर्घटना, पाँच जना घाईते

127
सांकेतिक तस्बिर ।

सर्लाहीको अलग–अलग स्थानमा भएका सवारी दुर्घटनामा पाँच जना घाईते भएका छन् । ईश्वरपुर नगरपालिका–५, सखुवनी चोकमा फूलजोरबाट बयलवासतर्फ जाँदै गरेको बीआर ३० पिए ०५५० नं. को स्कारपियोले ठक्कर दिँदा साइकलमा हिँडिरहेका स्थानीय मिजमान बलका ११ वर्षीय छोरा मानव बल घाईते भएका छन् ।
यस्तै हरिपुर नगरपालिका–२, बलिराम चोकमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०१ बिडी १६६९ नं. को मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाईते छन् । मोटरसाइकलले साइकललाई ठक्कर दिई पल्टिँदा साइकलमा सवार हरिपुर नगरपालिका–६, लक्ष्मीपुरका ५० वर्षीय रामप्रसाद माझी, मोटरसाइकलका चालक हरिपुर नगरपालिका–२, का २४ वर्षीय राहुल अन्सारी र मोटरसाइकल पछाडि सवार २३ वर्षीय रोहित शर्मा घाईते भएका प्रहरीले जनाएको छ ।
यसैगरी धनकौल गाउँपालिका–२, मा बीआर ३० डब्लू ६८०७ नं. को मोटरसाइकलले ठक्कर दिँदा गौडेता नगरपालिका १ का २२ वर्षीय शम्भु महतो घाईते भएका छन् । महतोलाई बरहथवामा सामान्य उपचार पश्चात वीरगञ्ज रेफर गरिएको छ भने ईश्वरपुर र हरिपुरमा भएका दुर्घटनाका घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।