सशस्त्र प्रहरीको संग्रामपुर बिओपी आफ्नै भवनमा

135

सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) नयाँ भवनमा सारिएको छ ।
२०६५ सालदेखि स्थानीय वासिन्दाले उपलब्ध गराएको व्यक्तिगत घर टहरामा रहेको बिओपीलाई आइतवारबाट आफ्नै भवनमा सारिएको हो । नवनिर्मित बिओपी भवनको आइतवार बिहान सशस्त्र प्रहरी बल नेपाल नं. २ छिनमस्ता बाहिनी मुख्यालय बर्दिवास, महोत्तरीका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) राजु अर्यालले गरेका हुन् ।
भवनको उद्घाटन गर्दै डिआईजी अर्यालले सशस्त्र प्रहरी आफ्नो कर्तव्य निर्वाह गर्न ईमान्दारिताका साथ लागि परेको बताए । यस्तै सर्लाहीका सशस्त्र प्रहरी प्रमुख (एसपी) विनोदराज श्रेष्ठले सङ्ग्रामपुर बिओपी अन्तर्गत कुनै पनि स्थानमा सीमा क्षेत्र अतिक्रमणमा नपरेको भन्दै खुशी व्यक्त गरे ।
बिओपी भवन उद्घाटन समारोहमा प्रदेश सभा सदस्य रवीन्द्र बैठा, हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम राय, पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव राय, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतको आतिथ्यता रहेको थियो । सोही समारोहमा ११ वर्षसम्म बिओपी राख्न घरटहरा प्रदान गर्ने शम्भु मण्डल, राजदेव मण्डल र अरुण मण्डल तथा नयाँ भवन बनाउन सहयोग गर्ने सुरेश राउत र नागेश्वर रायलाई सशस्त्र प्रहरीले कदर पत्र प्रदान गरी सम्मान गरेको छ ।


२०७६ वैशाख २१ गते शिलान्यास गरिएको बिओपी भवनको केही समयअघि निर्माण पूरा गरी आइतवार उद्घाटन गरिएको सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) जयबहादुर दथेपुथेले जानकारी दिए । उनका अनुसार खुला सीमा नाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्य अन्तर्गत गत आर्थिक वर्षमा साँढे छ लाख राजस्व सङ्कलन गरेको बिओपी संग्रामपुरले यस आर्थिक वर्षको हालसम्म साँढे १६ लाख रुपियाँ राजस्व संकलन गरिसकेको छ ।
जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने संग्रामपुर बिओपीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिका एवं ईश्वरपुर नगरपालिकाको वडा नं. १५ कार्य क्षेत्र पर्छ ।