राजर्षि जनक कपमा आज एपीएफ र जावलाखेल भिड्दै

144

बागमती – सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत आज (आईतबार) दिउँसो सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब काठमाडौं र जावलाखेल युथ क्लब ललितपुर बिच खेल हुँदैछ ।

बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा दिउँसो ३ बजेबाट सूरु हुने खेलमा सहभागि हुन दुवै टिम सर्लाही आईसकेको आयोजक बागमती नगरपालिकाका खेलकुद विभाग प्रमुख दिपक लामाले जानकारी दिए । विभागिय सशस्त्र प्रहरीको एपीएफ र ए डिभिजन क्लब जावलाखेल बिचको खेल अत्यन्त प्रतिष्पर्धात्मक हुने आयोजकले जनाएका छन् । जावलाखेलमा अफ्रिकन मुलका विदेशी खेलाडीहरु समेत रहेको लामाले जानकारी दिए । उपाधीकै दाबेदार मानिने दुई टिमबिचको खेल जारी प्रतियोगितामा हालसम्मकै उत्कृष्ट हुने आयोजकको दाबी छ ।

विहिबारदेखि जारी प्रतियोगिता अन्तर्गत हालसम्म ब्वाईज युनियन क्लब काठमाडौं, भारतको दार्जीलिङ स्थित युनाईटेड खर्साङ युवा क्लब र नेपाल पुलिस क्लब विजयी हुँदै क्वाटरफाईनल चरणमा प्रवेश गरिसकेका छन् । ‘प्रदेश नम्बर दुईको शान, राजा जनक प्रतिको सम्मान’ भन्ने नारा सहित सूरु प्रतियोगिताको आगामी चैत २ गते फाईनल खेल हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । दुई विदेशी क्लब सहित १२ वटा टिम सहभागि प्रतियोगिताका विजेताले नगद १० लाख सहित प्रथम उपाधी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्नेछ । सर्लाही घर भएका उत्कृष्ट खेलाडीलाई एउटा मोटरसाईकल प्रदान गरिने छ भने प्रतियोगिताकै सर्वोत्कष्ट खेलाडीलाई नगद ५१ हजार रुपैंया प्रदान गरिने आयोजकले जनाएका छन् ।