उद्योग वाणिज्य संघको नेतृत्व गोप्य रुपमा चयन गरिएको दावी

मलंगवा – उद्योग वाणिज्य संघ मलंगवा, सर्लाहीको नयाँ नेतृत्व विधि संवत ढंगले गठन नभएको गुनासो आएको छ ।

गोप्य रुपमा नयाँ नेतृत्व चयन गरिएको भन्दै व्यापारीको एक समूहले प्रशासन गुहारेका छन् । अध्यक्षका उम्मेदवार सञ्जय गुप्ताले विधि संवत रुपमा सबै व्यापारीको उपस्थितिमा समिति चयन गर्न माग गर्दा गर्दै एकलौटी ढंगले चयन गरिएको आरोप लगाए । समिति चयनबारे सदरमुकाम मलंगवाका बहुसंख्यक व्यापारीलाई जानकारी नै नदिइएको गुप्ताको दावी छ ।

उनी नेतृत्वका व्यापारीहरुले विधि संवत निर्वाचन गराउन माग गर्दै फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए । आफूहरुको मागमा बेवास्ता गरी नयाँ समिति चयन गरिएको गुप्ताले गुनासो गरे । व्यापारीहरुको अर्को समूहले शुक्रवार वीरेन्द्रप्रसाद साहको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिमा रहेका व्यापारीहरुले बहुमत पु¥याएर विधि अनुसार नै समिति चयन गरिएको दावी गरेका छन् । यसबारेमा नवगठित समितिका अध्यक्ष विरेन्द्रप्रसाद साहलाई उज्यालो अभियान दैनिकबाट शनिवार पटक–पटक फोन गरे पनि उनको फोन उठेन् ।

उद्योग वाणिज्य संघ मलंगवाको फागुन १० गते १० औँ वार्षिक साधारण सभाको उद्घाटन समारोह सामान्य रुपमा सम्पन्न भएपनि बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्न भने विवाद भएको हो । केही दिनअघि दुई पक्षका व्यापारीबीच हात हालाहालकै अवस्था आउँदा अप्रिय घटना हुन नदिन प्रहरी नै परिचालन गर्नु परेको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले विधि संवद किसिमले समिति चयन भए÷नभएको सम्वन्धमा छानबिन भइरहेको बताए ।