सर्लाहीको मौसम छिनछिनमै बदली

177

सर्लाहीको मौसम शनिवार बहानैदेखि छिन–छिनमै बदली भइरहेको छ ।

एकैछिनमा पानी पर्ने र मौसम उघ्रिने क्रम चलिरहेको हो । बिहानदेखि जिल्लाको उत्तरी भेगका दुई÷तीन पटक वर्षा भइसकेको छ । तर बादल लागेर धुम्मिए पनि सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने पानी नपरेको स्थानीय वासिन्दाले बताएका छन् ।
सर्लाहीसहित आसपासका जिल्लाको मौसममा बदली भइरहेका बेला काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले रातिदेखि नै विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुनेछ । तर झरीको सम्भावना भने नभएको उनले बताए । पश्चिमी वायुसँगै स्थानीय वायु कमजोर भएपछि भोली आइतबारदेखि भने मौसम खुल्दै जाने मौसमविद् श्रेष्ठले बताए ।