राजर्षि जनक कपमा आज दार्जीलिङ र क्षमादेवी भिड्दै

213

बागमती – सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) दिउँसो भारतको दार्जीलिङ स्थित युनाईटेड फूटबल क्लब कुरसोङ र क्षमादेवि प्लानिङ ब्वाईज पेप्सीकोला काठमाडौं बिच खेल हुँदैछ ।

बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा दिउँसो ३ बजेबाट सूरु हुने खेलमा सहभागि हुन दुवै टिम सर्लाही आईसकेको आयोजक बागमती नगरपालिकाका खेलकुद विभाग प्रमुख दिपक लामाले जानकारी दिए । भूटानको उर्गेन एकेडेमी अन्तिम समयमा आएर प्रतियोगितामा सहभागि नहुने भएपछि उक्त ठाउँमा दार्जीलिङको युनाईटेड क्लब खेल्नका लागि आएको हो । हिजो (विहिबार) भएको उद्घाटन खेलमा ब्वाईज युनियन क्लब काठमाडौं आयोजक बागमती युवा क्लब निलोलाई १–० गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।

‘प्रदेश नम्बर दुईको शान, राजा जनक प्रतिको सम्मान’ भन्ने नारा सहित सूरु प्रतियोगिताको आगामी चैत २ गते फाईनल खेल हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । दुई विदेशी क्लब सहित १२ वटा टिम सहभागि प्रतियोगिताका विजेताले नगद १० लाख सहित प्रथम उपाधी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्नेछ । सर्लाही घर भएका उत्कृष्ट खेलाडीलाई एउटा मोटरसाईकल प्रदान गरिने छ भने प्रतियोगिताकै सर्वोत्कष्ट खेलाडीलाई नगद ५१ हजार रुपैंया प्रदान गरिने आयोजकले जनाएका छन् ।