सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, चार घाईते

246
सांकेतिक तस्बिर ।

लालबन्दी – सर्लाहीको छुट्टाछुट्टै स्थानमा बुधबार साँझ र राती भएका सवारी दुर्घटनामा एक जनाको वृद्धाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

जिल्लाको कौडेना गाउँपालिका–२, चिरान मिल अगाडि भारतीय बीआर ३० भी ९३७७ नम्बरको मोटरसाईकलबाट खसेर ७३ वर्षीया जानकी देवी लोहारको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकलबाट खसेर गम्भीर घाईते वृद्धालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुधबार साँझ वीरगञ्जतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते मोटरसाइकल चालक गोडैता नगरपालिका–९, बकैनियाका १९ वर्षीय जीतेन्द्र ठाकुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी चौकी गोडैताले जनाएको छ ।

यस्तै जिल्लाको बलरा नगरपालिका–४, मुस्लिम टोलमा पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा तीन जना घाईते भएका छन् । बलराबाट मिर्जापुरतर्फ जाँदै गरेको भारतीय बीआर ३० आर ७३२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीय भुटा सहनी घाईते भएका छन् । सहनीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा चालक भारतको सीतामढीका २५ वर्षीय अर्जुन साह र पछाडि सवार ४५ वर्षीय हरिराम साह पनि घाईते भएका छन् । तीन जना घाईते मध्ये पैदलयात्री सहनीलाई थप उपचारका लागि वीरगञ्जतर्फ लगिएको छ भने मोटरसाइकल चालक र पछाडि सवार भारतीयको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी चौकी बलराले जनाएको छ ।

यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुरको डाँका चोकमा ट्रकले ठक्कर दिँदा एक जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ज. ४ प ६५७६ नम्बरको मोटरसाइकललाई ना. ५ ख ४८५ नम्बरको ट्रकले ठक्कर दिँदा घाईते मोटरसाइकल चालक हरिवन नगरपालिका ३ का ४० वर्षीय महेन्द्र कुमार महतो घाईते भएका हुन् । महतोको लालबन्दीस्थित एक स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।