नेकपा सर्लाहीको सचिवमा तत्कालिन माओवादी केन्द्रका नेता कमल बुढाथोकी नियुक्त

989

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीको सचिवमा नेता कमल बुढाथोकीलाई नियुक्त गरिएको छ ।

पार्टीका केन्द्रीय महासचिव विष्णुप्रसाद पौडेलले वुधवार २ नं. प्रदेश कमिटीलाई पत्र पठाएर बुढाथोकीलाई सचिव पदमा नियुक्त गरेको जानकारी गराएका हुन् ।
नेकपा सर्लाहीको सचिव पदमा लामो समयदेखि विवाद रहँदै आएको थियो । पार्टीको केन्द्रीय कमिटीले सूरुमा तत्कालिन एमालेका रेवती पन्तलाई जिल्ला अध्यक्ष र तत्कालिन माओवादी केन्द्रका डाचाराज वाग्लेलाई जिल्ला सचिवमा चयन गरेको थियो । तर केन्द्रीय सदस्य भइसकेको आफूलाई मर्यादाको ख्याल नै नगरी सचिवको जिम्मेवारी दिइएको भन्दै नेता वाग्लेले सचिव पद अस्वीकार गरे । पछि उनलाई पार्टीको जिल्ला इन्चार्ज तोकियो ।
सचिवमा नियुक्त नेता कमल बुढाथोकीले वुधवार दिउँसो उज्यालो अभियानसँग कुरा गर्दै पार्टीको निर्णय आफूलाई स्वीकार्य रहेको बताएका छन् । जिल्ला अध्यक्ष रेवती पन्तले रिक्त सचिव पदमा बुढाथोकी मनोनित भएसँगै समन्वयकारी ढंगले अब पार्टीका कामलाई तिब्रगतिमा अगाडी बढाईने जानकारी दिए ।