हरिवन दुर्घटना : अवरुद्ध राजमार्ग चार घण्टापछि खुल्यो

203


हरिवन नगरपालिका–४, सासापुर गणेश चौकमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीय वासिन्दाले अवरुद्ध गरेको पूर्व–पश्चचिम राजमार््ग चार घण्टा पछि खुलेको छ ।
सोमवार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ८ ख ८५२१ नम्वरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४८ प १७०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय २१ वर्षीय रोशन भुजेलको घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै स्थानीय वासिन्दाले ट्रकमा आगजनी गरी राजमार्ग अवरुद्ध गरेका थिए ।
स्थानीय वासिन्दाले सोमवार राती आठ बजेदेखि गरेको चक्काजाम राती १२ बजेतिर खुलाइएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । दुर्घटनामा संलग्न ट्रकका चालकलाई कानुन बमोजिम कारवाही गर्ने र दुर्घटनामा मृत्यु हुने व्यक्तिले कानुन बमोजिम पाउने रकम मृतक युवकका परिवारलाई उपलब्ध गराउन पहल गर्ने सहमतिमा राजमार्ग खुलाइएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले उज्यालो अभियानसँग बताए
। आगजनीबाट ट्रक पूर्णरुपमा जलेको छ । दुर्घटना लगत्तै ट्रकका चालक हरिवन नगरपालिका–९, का ३३ वर्षीय सरोज खरेलले ईलाका प्रहरी कार्यालय हरिवनमा पुगेर आत्मसमर्पण गरेका छन् । ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीय वासिन्दा ट्रकमा आगजनी गरी राजमार्ग अवरुद्ध गर्न उत्रिएपछि सासापुरस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्र राती केही घण्टा तनावग्रस्त बनेको थियो ।
घटना लगत्तै राजमार्ग खुलाउन जिल्लाको राजमार्ग क्षेत्रसहित नजिकका ईलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट समेत डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो । मृतक युवकको शव अहिले ईलाका प्रहरी कार्यालय हरिवनमा रहेको छ ।