टेलिभिजन समेत सञ्चालन गर्ने उद्देश्यसहित रेडियो एकताले आफ्नै भवन बनाउने

262


टेलिभिजन समेत सञ्चालन गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीबाट प्रशारण भइरहेको सामुदायिक रेडियो एकताले आफ्नै भवन बनाउने भएको छ ।
मंगलवार बिहान बसेको रेडियोको भवन निर्माण उप–समितिको बैठकले लालबन्दी नगरपालिका–५, मा खरिद गरेको जग्गामा टेलिभिजन समेत सञ्चालन गर्न मिल्ने गरी रेडियोको आफ्नै भवन बनाउने निर्णय गरेको हो । भवन निर्माण उप–समितिका अध्यक्ष रेणुकान्त ढुंगानाको अध्यक्षतामा बसेको बैठकले यही फागुन २३ गते रेडियोको नयाँ बन्ने भवनको शिलान्यास गर्ने निर्णय गरेको छ ।
भवन बनाउन रेडियोले केही समयअघि लालबन्दी नगरपालिका–५, मा एक कठ्ठा पाँच धुर र टावर राख्न चुरेभेगस्थित लालबन्दी नगरपालिका–१३, नारायण डाँडामा १० धुर जग्गा खरिद गरिसकेको रेडियोका अध्यक्ष बेनीबहादुर कार्कीले जानकारी दिए ।
रेडियो, हाल लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित भाडाको घरबाट सञ्चालन भइरहेको छ । जतिसक्दो चाँडो आफ्नै जग्गामा भवन बनाएर रेडियो र टेलिभिजन एकैसाथ प्रशारण गर्ने उद्देश्य रहेको रेडियोका सचिव विनोदकुमार थापाले बताए ।
यस क्षेत्रको विकास तथा समृद्धिका लागि सूचना तथा समाचारमार्फत पहल गर्दै आएको रेडियोको नयाँ बन्ने भवनका लागि सहयोग गरिदिन रेडियाले सबैसँग आग्रह समेत गरेको छ ।