हरिपुर नगरपालिकाको पांचौ नगर सभा सुरु


सर्लाहीको हरिपुर नगरपालिकाको पांचौ नगर सभा आइतवारबाट प्रारम्भ भएको छ ।

नगर सभाको नगरप्रमुख जमरुदिन मन्सुरले उद्घाटन गरेका हुन् । नगरपालिकाको आफ्नै सभा हलमा आयोजित नगर सभाबाट नगर स्तरीय १८ वटा विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार नगर सभा फागुन २१ गतेसम्म चल्नेछ ।

कार्यसूचीमा रहेका विधेयकमा छलफल नटुङगिए नगर सभाका लागि निर्धारित दिन लम्बिन समेत सक्छ । हरिपुर नगरपालिकाले हालसम्म १० वटा नगर स्तरीय कानुन निर्माण गरेको छ ।

जारी पांचौ नगर सभाले हालसम्म काम अघि बढ्न नसकेका तथा अधुरो अवस्थामा रहेका योजनाहरुमा बजेट समेत हेरफेर गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए ।