सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग साँढे तीन घण्टादेखि अवरुद्ध

556
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनको तीनघरेमा सोमबार राती आक्रोशित स्थानीयले लगाएको आगोका कारण जलिरहेको ट्रक । (तस्बिर : घनश्याम बलम्पाकी/उज्यालो अभियान)

तीनघरे – ट्रकको ठक्करबाट मोटरसाईकलमा सबार एक युवकको मृत्यु एवं दुईजना घाईते भएपछि आक्रोशित स्थानीय बासिन्दाको चक्काजामका कारण सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत तीनघरे चोकमा सोमबार राती यो समाचार तयार पार्दासम्म सार्वजनिक सवारी साधन अवरुद्ध बनेको छ ।

पूर्वबाट आईरहेको ना. ८ ख ८५२१ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सबार हरिवन नगरपालिका–४ निवासी २१ वर्षीय रोशन भूजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रकको ठक्करबाट अर्को मोटरसाईकलमा सबार दुईजना समेत घाईते भएको स्थानीयले बताएका छन् ।

हरिवन नगरपालिका–४ का वडाध्यक्ष धनबहादुर वाईबाले मृतकको शव ईलाका प्रहरी कार्यालय हरिवनमा रहेको तथा घाईतेहरुको उपचार लालबन्दीमा भईरहेको जानकारी दिए । भिड अत्यन्त अनियन्त्रित भएकाले राजमार्ग जाम खुलाउने प्रयास असफल भएको वडाध्यक्ष वाईबाको भनाई छ । चक्काजाम खुलाउन जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौर नेतृत्वको सुरक्षाकर्मी टोली घटनास्थलमा खटिएको छ ।

आगजनीबाट ट्रक पूर्ण रुपमा ध्वस्त भएको छ भने साँझ साँढे ७ बजेदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । प्रनाउ राठौरले अवरुद्ध राजमार्ग सुचारु गराउने प्रयास भईरहेका जानकारी दिए ।