गोलभेँडा खेतीबाट समृद्ध बन्दै किसान

१६ कठ्ठामा गोलभेँडा लगाएका लालबन्दी नगरपालिका–११, हीरापुरका राजकुमार महतोले यस वर्ष अहिलेसम्म दुई लाख रुपैयाँको गोलभेँडा बिक्री गरिसकेका छन् ।
अझै एक लाख रुपैयाँको गोलभेँडा उत्पादन हुने महतोले बताए । उनले गोलभेँडा लगायत अन्य तरकारी फलाएर घर व्यवहार सजिलै चलाउनुका साथै छोराछोरीलाई शिक्षादिक्षा प्रदान गर्दै आएका छन् । मेरो आम्दानीको मुख्य स्रोत नै तरकारी खेती हो, त्यसमा पनि धेरै मात्रामा गोलभेँडा खेती गर्दै आएको छु, १० वर्ष भन्दा बढी समयदेखि तरकारी खेती गर्दै आएका महतोले भने, सुरुमा १० कठ्ठा जग्गा थियो तरकारी खेती गर्न थालेपछि दुई बिघा खेतबारी बनाएको छु ।
महतोको बारीमा अहिले रातै भएर लटरम्म गोलभेँडा फलेका छन् । मुख्य याम भएकाले महतोलाई बजारसम्म ल्याएर गोलभेँडा बिक्री गर्न भ्याई–नभ्याई छ । अहिले सबैतिर गोलभेँडा पाकेकाले गोलभेँडा टिप्ने मजदुर नपाएको महतोले गुनासो गरेका छन् ।
आफ्नै जग्गा नभएका किसानले ठेक्कामा जग्गा लिएर पनि व्यवसायिक रुपमा गोलभेँडा खेती गर्दै आएका छन् । आफ्नो जग्गा छैन्, १२ कठ्ठा जग्गा ठेक्कामा लिएर गोलभेँडा खेती गरिरहेको छु, लालबन्दी नगरपालिका–८, तीन नम्बरका सोमबहादुर मिक्चनले भने, सिँचाईको अभाव रहेकाले यहाँ अन्य खेती हुँदैन्, आकाशे वर्षाको भरमा गोलभेँडा खेती गर्दै आएका छौँ । वर्षमा प्रति कठ्ठा दुई हजार रुपैयाँका दरले जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्दै आउनु भएका मिक्चनले यस वर्ष ८० हजार रुपैयाँको गोलभेँडा बिक्री गरिसकेका छन् ।
१७ कठ्ठामा गोलभेँडा लगाएका हरिवन नगरपालिका–३, सासापुरका किसान श्यामसुन्दर महतोले गोलभेँडा खेतीबाट व्यवहार धान्न सहज भइरहेको सुनाए । पाँच धुर जग्गामा एक पटक टिप्दा १०÷१२ क्रेट गोलभेँडा निस्कन्छ, गोरुगाढामा राखेर गोलभेँडा बिक्री गर्न लालबन्दी बजार आउनु भएका महतोले भने, एक पटकमा गालभेँडा बेच्दा सात÷आठ हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ ।
गोलभेँडाको शहर भनेर चिनिने सर्लाहीमा उत्तरी भेगका लालबन्दी, हीरापुर, चन्द्रनगर, पत्थरकोट, रानीगञ्ज, नवलपुर, सासापुर, अत्रौली, घुर्कौली लगायतका क्षेत्रमा व्यवसायिक रुपमा गालेभेँडा खेती गरिन्छ । यहाँका किसानले उत्पादन गरेको गोलभेँडा जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारबाट देशका प्रमुख शहरहरुमा निर्यात हुने गरेको छ ।