अहिलेको सरकार कम्युनिष्ट नभएर कमाउ निष्ट हो : उपेन्द्र यादव

196
आम सभालाई सम्वोधन गर्न मलंगवा आएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गर्दै पार्टीका प्रदेश सभा सदस्य अशोक यादव । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – वर्तमान सरकार भ्रष्टाचार र अनियमितता गर्नमा लिप्त रहेको समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा शनिवार अपरान्ह अयोजित आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै अध्यक्ष यादवले अहिलेको सरकार कम्युनिष्ट नभएर कमाउ निष्ट भएको आरोप लगाएका हुन् । सरकार प्रेस स्वतन्त्रता, गोपनियता, अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुश लगाएर जथाभावी गर्नमा लागि परेको यादवको आरोप थियो ।

वाइडबडी प्रकरण र नेपाल ट्रष्ट प्रकरणमा सरकारले भ्रष्टाचार गरेको पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवको दावी छ । सुखी नेपाली समृद्ध नेपालको नाममा वर्तमान सरकारले दरिद्र नेपाल दुःखी नेपाली बनाउने काम गरेको यादवको तर्क थियो । ‘नेपालको इतिहासमा अहिले जस्तो भ्रष्टाचार कहिले पनि भएको थिएन’, यादवले भने, ‘आर्थिक विकास र सुशासनमा यो सरकारले काम गर्नै सकेन ।’

लोकतन्त्र र समावेशितालाई कुण्ठित गरेर केपी शर्मा ओली नेतृत्वको सरकार अगाडी बढ्न खोजेको यादवको आरोप छ । ‘मधेशी, महिला, थारु, जनजाती लगायतले अहिले पनि अधिकार पाएका छैनन’, यादवले भने, ‘धेरै जनता अहिले पनि नागरिकताबाट बञ्चित छन् । गाउँगाउँमा नागरिकता टोली गएर थुप्रैलाई नागरिकता दियो । तर, जसले जन्मसिद्धको नागरिकता पाए उनीहरुको सन्तानले अहिले पनि नागरिकता पाउन सकेका छैनन् ।’

आफूहरुले अधिकारको लागि संविधान संशोधन गर्न भन्दा दुई तिहाईको सरकारले नमाने पछि बाध्य भएर सरकार छाडेको यादवले बताए । समाजवादी पार्टी सर्लाहीका अध्यक्ष वीरेन्द्रकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा अन्य पार्टीबाट ठूलो संख्यामा नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका समाजवादी पार्टीका नेताहरुले दावी गरेका छन् ।