अलपत्र छाडिएको हुलाकी सडकको निर्माण कार्य तत्काल अघि बढाउन माग

153


लामो समयदेखि निर्माणको काम अलपत्र अवस्थामा छाडिएको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य तत्काल अघि बढाउन माग गरिएको छ ।
आइतवार सदरमुकाम मलंगवामा बसेको सर्वपक्षिय बैठकले जिल्लाको दक्षिण–पूर्वी सीमाना संग्रामपुरदेखि दक्षिण–पश्चिम सीमाना बलरासम्मको हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र सूचारु गर्न माग गरेको हो । फागु पूर्णिमा सम्म पनि सडक निर्माणको काम अघि नबढाए चरणवद्ध आन्दोलनमा उत्रने निर्णय भएको बैठकमा सहभागी प्रदेश सभा सदस्य अशोक यादवले उज्यालो अभियानसँग बताए । सर्वपक्षिय बैठकको निर्णयसहित तत्काल सडक निर्माणको काम अघि बढाउन माग गर्दै आइतवार नै जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराइएको छ ।
ज्ञापन पत्र बुझाएर ध्यानार्षण गराउँदा समेत सुनुवाई नभए आन्दोलनको कार्यक्रम अघि बढाउन सांसद, स्थानीय तहका प्रमुख, नागरिक अगुवा लगायत सम्मेलित संघर्ष समिति समेत गठन गरिएको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले जानकारी दिए । जिल्ला समन्वय समितिमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षता एवं सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय संयोजक महेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा हुलाकी सडकबारे छलफल गर्न सर्वपक्षिय बैठक बसेको हो ।
सर्वपक्षिय बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्य, पूर्व–पश्चिम तथा भित्री हुलाकी सडकमा पर्ने विभिन्न पालिकाका प्रमुख, सडक कार्यालय जनकपुर र चन्द्रनिगाहपुरका प्रतिनिधि लगायत सहभागी भएका थिए । सदरमुकाम मलंगवासँग जोड्ने भारतीय सीमा सँगैको जिल्लाको पूर्व–पश्चिम हुलाकी सडक लामो समयदेखि जिर्ण अवस्थामा रहँदा यहाँका नागरिकले वर्षायाममा हिलो र हिउँदमा धूलोको मार खेप्दै आएका छन् ।
केही दिनअघि सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साहले काठमाण्डौंमा सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरी सर्लाही खण्डको हुलाकी सडक निर्माणको काम तत्काल अघि बढाउने व्यवस्था मिलाई दिन आग्रह गरेका थिए । आफूले हुलाकी सडकको अवस्थाबारे निरन्तर रुपमा मन्त्री नेम्वाङ र मन्त्रालयका जिम्मेवार कर्मचारीलाई ध्यनार्षण गराइरहेको सांसद साहले बताएका छन् ।
फोटो क्याप्सन ः हुलाकी सडकको निर्माणबारे छलफल गर्न मलंगवामा आयोजित सर्वपक्षिय छलफलमा बोल्दै सांसद महेन्द्र राय यादव । (तस्बिर ः उज्यालो अभियान)