चितायन मन्दिरभरी भाण्टाको भार र धानको मट्का

240
भक्तजनले चढाएको धानको मटका र भाण्टाको भारले भरिएको चितायन मन्दिरको आँगन । (तस्बीर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुर स्थित ऐतिहाँसिक एवं धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा शुक्रबार दिनभर भक्तजनहरुको घुईंचो लागेको छ ।
महाशिवरात्री पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मटका चढाउनका लागि हजारौं भक्तजनहरुको भिड लागेको हो । मुसा लगायत छालारोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रीका दिन चितायन मन्दिरमा भाण्टाको भार चढाउने प्रचलन छ । त्यस्तै चिताएको भाकल पूरा हुने विश्वासका साथ भक्तजनले परालद्वारा बाँधिएको धानको मटका (मौर) चढाउने गर्दछन् । मन्दिर परिसर भक्तजनले चढाएको भाण्टाको भार र धानको मट्काले भरिभराउ बनेको छ । दिनभर भक्तजनको भिड लागेका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित आयोजक समितिका स्वयंसेवकलाई व्यवस्थापनका लागि भ्याई नभ्याई भएको थियो । यहाँ भाण्टाको भार र धानको मट्का चढाउन छिमेकी महोत्तरी, सिन्धुली, महोत्तरी सहित भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
हरेक वर्ष महाशिवरात्रीको दिनदेखि यहाँ मेला समेत लाग्ने गरेको छ । यसवर्ष आगामी फागुन १४ गतेसम्म मेला चल्ने लक्ष्मिनाथ चितायन महादेव विकास समितिका रामकृष्ण चौधरीले जानकारी दिए । चौधरीका अनुसार ३०० वर्ष भन्दा अघिदेखि यो मेला लाग्दै आएको हो ।
स्थानीय बासिन्दाका अनुसार १५–१६ वर्षयता मेलाको समयावधी घटेको छ । पहिला महिना दिनसम्म चल्ने मेलामा फलामका चिजबिज, डोरी लगायत किन्न पहाडी जिल्लाबाट सर्वसाधारणहरु चितायन मेलामा झर्ने गरेको र भारतका ठूला व्यापारीहरु पसल राख्न आउने गरेको चौधरीको कथन छ ।
यसवर्ष भाण्टाको भार र धानको मट्का चढाउने सहित एकलाख भन्दा बढीले मेला अवलोकन गर्ने चौधरीको अनुमान छ । मतका कुवा, विद्युतीय रेल, घोडचढी, रोटे पिङ, साँस्कृतिक कार्यक्रम, सर्कस लगायत अन्य आकर्षण समेत रहेको चौधरीले जानकारी दिए ।
त्यस्तै जिल्लाकै मूर्तिया स्थित ऐतिहाँसिक मुक्तेश्वर महादेव मन्दिर, हरिवनको कैलाशपुरी महादेव मन्दिर र चतुर्भूजेश्वर महादेव मन्दिर, फरहदवाको जंगमुक्तेश्वर मन्दिर, लालबन्दीको डुमडुमे मन्दिर लगायत शिवालयमा शुक्रबार दिनभर भक्तजनहरुको भिड लागेको थियो ।