ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान

109
ज्येष्ठ नागरिकलाई सम्मान गरेपछि सामूहिक तस्बिर खिचाइँदै । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–५, को वडा कार्यालयले वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर सम्मान गर्न थालेको छ ।

७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर सम्मान गर्न सुुरु गरिएको लालबन्दी नगरपालिका–५, का वडाध्यक्ष मोहनहरि भण्डारीले बताए । वडाध्यक्ष भण्डारी र वडाका अन्य जनप्रतिनिधिले ज्येष्ठ नागरिकहरुको घरमै पुगेर सम्मान गर्न सुरु गरेका हुन् । ज्येष्ठ नागरिकलाई आफूहरुले यसरी सम्मान गरेपछि सकारात्मक सन्देश जाने र परिवारका सदस्यहरुले पनि सँधै सम्मान गरिरहने अपेक्षासहित यो अभियान सुरु गरिएको वडाध्यक्ष भण्डारीको भनाई छ ।

वडा कार्यालयका अनुसार लालबन्दी नगरपालिका–५, मा ७५ वर्ष माथिका ७६ जना ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये बिविहार पहिलो दिन शान्ति टोलका १३ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरिएको वडा सचिव टेष्टराज भण्डारीले जानकारी दिए । उनका अनुसार सबै ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर एक डब्बा हर्लिक्स प्रदान गरिने छ । यसअघि लालबन्दी नगरपालिका–९, का जनप्रतिनिधिले पनि वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई यसैगरी घर–घरमै पुगेर सम्मान गरेका थिए ।