जथाभावी फोहोर फाल्दा राजमार्ग क्षेत्र कुरुप

136
सर्लाहीको बागवानी जंगलस्थित पूर्व–पश्चिम राजमार्ग छेउछाउमा फालिएको फोहोर । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – आफूखुशी जथाभावी फोहोर फाल्दा सर्लाहीको पूर्व–पश्चिम राजमार्ग (हाईवे) क्षेत्र कुरुप बन्दै गइरहेको छ ।

बस्ती नरहेका जिल्लाको पूर्व–पश्चिम राजमार्ग छेउछाउको क्षेत्र फोहोरका कारण कुरुप बनेको हो । सबै भन्दा बढी फोहोर बागवानी जंगल क्षेत्र र लालबन्दीस्थित खेल मैदान छेउछाउ देखिन्छ । स्थानीय वासिन्दा र व्यवसायीले त्यस क्षेत्रमा जथाभावी फोहोर फालिरहेका छन् ।

समय–समयमा स्थानीय तह, सरसफाईको क्षेत्रमा काम गर्ने संघसंस्था र सरसफाई अभियन्ताहरुले अरु ठाउँमा सरसफाई अभियान चलाए पनि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा थुप्रिएको फोहोरको सफाई गर्न भने ध्यान दिएका छैनन् । नवलपुर निवासी विणा श्रेष्ठले जथाभावी फोहोर फाल्दा राजमार्ग क्षेत्र दुर्गन्धित र कुरुप बनेको जानकारी दिईन् । २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित सरकारले नेपाल भ्रमण वर्ष मनाइरहेको अवस्थामा यस क्षेत्रमा पर्यटक ओहोरदोहोर गर्ने मुख्य राजमार्ग नै कुरुप बन्दा अभियानमा प्रभाव पर्ने देखिएको श्रेष्ठको भनाई छ ।

पछिल्लो समय जिल्लाको बजार क्षेत्रका व्यवसायी र स्थानीय वासिन्दाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रलाई फोहोरो फाल्ने स्थलको रुपमा प्रयोग गरिरहेका छन् । राजमार्ग क्षेत्र अति नै फोहोर रहेको लालबन्दी नगरपालिका–१, का वडाध्यक्ष पञ्चलाल स्याङ्बोले वडाको तर्फबाट मात्रै सरसफाई गरेर पूर्व–पश्चिम राजमार्गलाई सफा राख्न नसकिने बताएका छन् ।

वडाध्यक्ष स्याङ्बोले २४ सैं घण्टा दौडिने सवारीका यात्रुले फोहोर फाल्दा राजमार्ग छेउछाउमा फोहोरो थुप्रिदै गएको बताए । राजमार्गलाई सफा राख्न सबै निकाय अग्रसर भए वडाले पनि सहयोग गर्ने वडाध्यक्ष स्याङ्बोको भनाई छ ।