प्रहरीको शिविरमा एक हजार बढीको निःशुल्क औषधोपचार

247
स्वास्थ्य परीक्षण गर्दै प्रहरी अस्पतालका चिकित्सक । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा सम्पन्न दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नमूना अस्पताल हरिवनमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ७९ जनाको औषधोपचार गरिएको हो । शिविरमा पहिलो दिन आइतवार ३५७ र दोस्रो दिन सोमवार ७२२ जनाको औषधोपचार गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । शिविरमा नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाण्डौंबाट आएका प्राविधिक चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा प्रायः सबैजसो रोगका बिरामीको निःशुल्क उपचार गरी औषधि समेत प्रदान गरिएको हरिवनका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिए ।
शिविरमा स्वास्थ्य परीक्षणका लागि प्रहरी अस्पताल काठमाडौंबाट फिजिसियन डा. सुरेन्द्र कुमार साह, मेडिकल अफिसर डा. दिपक भिन्दवार, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अनु बोहरा, डा. प्रविना मास्के, फार्मेसी विजया अधिकारी लगायत स्वास्थ्यकर्मीहरुको टोली आएको थियो । सोमवार सम्पन्न दुई दिने शिविरमा निःशुल्क औषधोपचार गराउन पाउँदा विशेष गरी विपन्न तथा असहाय परिवारले राहत महसुस गरेका छन् ।