चेम्बर हरिवनको अध्यक्षमा कृष्णओम पोते

641
अध्यक्षमा चयन भएका कृष्णओम पोते । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन चेम्बर अफ कमर्शको अध्यक्षमा कृष्णओम पोते चयन भएका छन् ।

मंगलबार दिउँसो हरिवन स्थित नेवा सेवा समाजको सभा हलमा भएको व्यापारीहरुको भेलाले हरिवनका प्रतिष्ठित कपडा व्यापारी पोतेको अध्यक्षतामा ३३ सदस्यीय नगर तदर्थ समिति गठन गरेको हो । समितिमा वरिष्ठ उपाध्यक्ष लालबाबु जयसवाल एवं उपाध्यक्षहरुमा गौरी महतो, नारायण गौतम, राजु शिवाकोटी, पदम गौतम र विमला बुढाथोकी चयन भएका छन् । त्यस्तै महासचिव टोपराज लुईंटेल, सचिव गोविन्द बुढाथोकी, कोषाध्यक्ष राजेशप्रसाद चौधरी र सह–सचिवमा विप्लव कार्की चयन भएको चेम्बरको हरिवन नेतृत्व गठनमा लागि परेका नेकपाका नेता उत्तरकुमार मैनालीले जानकारी दिए ।

त्यसअघि पोतेको अध्यक्षता एवं जिल्ला चेम्बर अफ कमर्शका अध्यक्ष रामभक्त प्रधानको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह भएको थियो । उद्घाटन समारोहमा जिल्ला चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं होटल व्यवसायी वैकुण्ठ सापकोटा, राजनैतिक नेताहरु केशव ढकाल, रामप्रसाद घिमिरे, सुनचाँदी व्यवसायी संघका हरिमोहन ठाकुर, बलराम पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

केही दिनअघि सम्पन्न उद्योग वाणिज्य संघ हरिवको अधिवेशनका क्रममा एक पक्षले जबर्जस्ती पेलेर नयाँ नेतृत्व गठन गरेको भन्दै आक्रोशित व्यवसायीहरु चेम्बर अफ कमर्शमा आवद्ध भई नयाँ नेतृत्व चयन गरेको एक व्यापारीले बताए । हरिवन अध्यक्षमा चयन भएका पोते उद्योग वाणिज्य संघको कोषाध्यक्षमा नाम चर्चा भएपनि अन्तिम समयमा उनको नाम हटेपछि हरिवनका धेरैजसो व्यापारीहरु आक्रोशित बनेको बताईन्छ । जिल्ला अध्यक्ष प्रधानले व्यवसायीहरुको हकहितमा क्रियाशिल हुँदै क्रमशः सर्लाहीका सबै बजारहरुमा नेतृत्व चयन गरिने जानकारी दिए ।