इन्दुशंकरले दियो उखु किसानको २३ करोड भुक्तानी

977
ईन्दुशंकर चिनी उद्योग (फाईल तस्बिर)

हरिवन – सर्लाहीको हरिवनमा रहेको इन्दुंशकर चिनी उद्योगले चालु क्रसिङ सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ ।

पुस १० गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म २३ करोड रुपैयाँ भुक्तानी गरेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा पुस १० गतेदेखि २५ गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो । उद्योगले दोस्रो चरणमा भुक्तानि गर्नका लागि पुस २६ गतेदेखि माघ १० गतेसम्मको तालिका सार्वजनिक गरिसकेको जनाएको छ । उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उखु प्रवन्धक रजकले बताए ।

सर्लाहीमा तीनवटा चिनी उद्योगमध्ये हाल उत्तरी भेगको इन्दुशंकर चिनी उद्योग हरिवन र दक्षिणी भेगको महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छ । किसानबाट अघिल्ला वर्षहरुमा खरिद गरेको उखुको भुक्तानि दिन नसकेको दक्षिण–पश्चिम भेगस्थित अन्नपूर्ण चिनी उद्योग धनकौल भने बन्द अवस्थामा रहेको छ । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले अघिल्ला वर्षहरुको बक्यौता नरहेका चिनी उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको धमाधम भुक्तानि गर्न थालेका बताए । उनले चिनी उद्योगीले ढिलो चाँडो भुक्तानि दिन थालेपनि सरकारले भने अनुदान रकम उपलब्ध गराउन आलटाल गरिरहेको गुनासो गरे ।