‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादव झुम्का कारागार चलान (गम्भिर त्रुटी भएकाले क्षमाप्रार्थी सहित यो समाचारमा भूल सुधार गरिएको छ)

495
पक्राउ परेका रामबाबु राय यादव (तस्बिर : रामबाबु राय यादवको फेसबुक वालबाट)

मलंगवा – ‘मिटरब्याजी’ आरोपी बरहथवा निवासी रामबाबु राय यादव झुम्का कारगार चलान भएका छन् ।

सर्लाही जिल्ला अदालतका ४ नंं. न्यायाधिश हरिप्रसाद कोइरालाको सोमबारको एकल इजलासले बरहथवा नगरपालिकाको गंगापुर निवासी यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसकेपछि यादवलाई सोमबार साँझ नै सुनसरीको झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलका अनुसार यादवको पक्ष र विपक्षमा सोमवार दिनभर थुनछेक बहस भएको थियो । थुनछेक बहस सकिएपछि सोमबार साँझ जिल्ला न्यायधिश कोईरालाले यादवलाई १५ लाख रुपैंया धरौटी रुपैंयामा छाड्न आदेश दिएका थिए ।

यादवविरुद्ध प्रहरीले गत शुक्रवार ठगी तथा आपराधिक विश्वासघात सम्वन्धिको कसुरमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । ‘मिटरब्याजी’ आरोपी यादवबाट ऋण लिएकाहरुले ऋण लिँदा कपाली तमसुक बनाई चर्को ब्याज असुली गरेको र धरौटी राखेको जग्गा आफू खुशी बिक्री गरेको गुनासो गर्दै आएका छन् । पीडितको गुनासोपछि प्रहरीले गत पुस २३ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । यादवलाई हुलिया परिवर्तन गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ ।

यस्तै सर्लाहीमा अर्का ‘मिटरब्याजी’ आरोपी त्रिभुवननगर निवासी सञ्जय साह रौनियारलाई पक्राउ गरी कारवाही गर्न माग गरिरहेका छन् । यसअघि जिल्लाका अर्का ‘मिटरब्याजी’ आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह भने केही महिनाअघि पक्राउ परी अदालतको आदेश अनुसार पूपक्षमा कारागारमा रहेका छन् । अदालतले साहलाई पूर्पक्षमा कारगार पठाएपनि यादवलाई भने धरौटीमा छाड्न आदेश दिएको हो ।

सोमबार साँझ यसै उज्यालो अभियान अनलाईन तथा मंगलबारको उज्यालो अभियान दैनिक पत्रिकामा यादव धरौटी रकम बुझाएर छुटेको समाचार प्रकाशित भएको थियो । भूलबस गम्भिर त्रुटी भएकामा यस उज्यालो अभियान मिडिया नेटवर्क प्रालि पाठक सहित सरोकारवाला सबैमा क्षमाप्रार्थी छौं ।