‘मिटरब्याजी’ आरोपी यादवको बयान सुरु

249
प्रहरी हिरासतमा रहेका रामबाबु राय यादव । (तस्बिर सौजन्य : रामबाबु राय यादवको फेसबुक पेजबाट)

मलंगवा – सर्लाही जिल्ला अदालतमा ‘मिटरब्याजी’ आरोपी बरहथवाका रामबाबु राय यादवसँग बयान लिन सुरु गरिएको छ ।

गत शुक्रवार ठगी तथा आपराधिक विश्वासघात सम्वन्धिको कसुरमा अभियोग पत्र दर्ता भएपछि यादवसँग आइतवारबाट बयान लिन सुरु गरिएको हो । आइतवार पहिलो दिन बयान नसकिएपछि यादवलाई पुनः जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा पठाइएको छ । न्यायाधिश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन सुरु गरिएको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए उनका अनुसार सम्भवतः आज (सोमवार) बयान सकेर सोमवारबाटै थुनछेक बहस सुरु हुनेछ ।

ऋण दिँदा कपाली तमसुकी बनाई चर्को ब्याज असुली गरेको तथा ऋण दिँदा ऋणीले धितो राखेको जग्गा अरु व्यक्तिलाई बिक्री गरेको गुनासो आएपछि यादवलाई प्रहरीले गत पुस २३ गते पक्राउ गरेको थियो । सर्लाही प्रहरीले अर्का ‘मिटरब्याजी’ आरोपी सञ्जय साह रौनियारको पनि खोजी गरिरहेको छ । उनी हाल भारतमा लुकिछिपी बसिरहेका स्रोतले जनाएको छ । यसअघि जिल्लाका अर्का ‘मिटरब्याजी’ आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवार पक्राउ परी हाल पूर्पक्षमा कारगारमा छन् ।
फोटो क्याप्सन ः ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादव । (तस्बिर ः यादवकै फेसबुकबाट)