भन्सार छलीको सामान बरामद

190

त्रिभुवननगर –प्रहरीले भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४, त्रिभुवनगरबाट अवैध सामान बरामद गरेको छ ।

शनिवार साँझ प्रहरी चौकी त्रिभुवनगरबाट प्रहरी नायब निरीक्षक (सई) सूर्यकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार नबुझाई ल्याइएको सामान बरामद गरेको हो । बरामद गरिएको सामानमा ४० हजार रुपैयाँ बराबरको आठ रोल कपडा, पाँच हजार रुपैयाँ बराबरको १० पिस ब्लाउज, १२ हजार रुपैयाँ बराबरको दुई थान लेङगा, नौ हजार रुपैयाँ बराबरको तीन थान साडी रहेको छ । यसैगरी दुई हजार रुपैयाँ बराबरको १७ थान नाईनलको झोला, छ हजार रुपैयाँ बराबरको २० किलो सूर्ति, सात हजार रुपैयाँ बराबरको २५ किलो जिरा, छ हजार रुपैयाँ बराबरको पाँच बण्डल पापड बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सम्पूर्ण सामान ८७ हजार रुपैयाँ मूल्य कायम गरी आइतवार जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ ।

अवैध किसिमले सामान ल्याउने तस्कर भने गस्तीमा रहेका प्रहरीलाई देख्ने बित्तिकै सामान छाडेर फरार भएका छन् । तस्करले जिल्लाको खुला सीमा नाका हुँदै लुकाईछिपाई विभिन्न किसिमका अवैध सामान भित्र्याउने गरेका छन् ।