नवलपुर–मलंगवा सडकमा कालोपत्रे नहुँदा गैर बजार बासी धुलोको मारमा

1263
लामो समयदेखि कालोपत्रे रोकिएको सर्लाहीको गैर बजारस्थित सडक । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)

कविलासी – सर्लाहीको गैर बजारमा लामो समयदेखि सडक कालोपत्रेको काम रोकिँदा स्थानीय वासिन्दा मारमा परेका छन् ।

झण्डै २६ किलोमिटर नवलपुर–मलंगवा सडक अन्तर्गत कविलासी नगरपालिकाको गैर बजारमा मात्रै अब छ सय मिटर सडक कालोपत्रे हुन बाँकी छ । महिनौँदेखि कालोपत्रेको काम अलपत्र छाडिँदा सडक छेउछाउका नागरिक र यात्रुहरु धूलोको मारमा परेका हुन् । सडकको धुलोले गैर बजार छपक्कै ढाक्ने गरेको छ । स्थानीय वासिन्दाले सडक दायाँबायाँ पानी निकास हुने नाला निर्माण गरेर मात्रै काम अघि बढाउन माग गरेपछि कालोपत्रेको काम अघि बढ्न नसकेको हो ।

गैरस्थित नागरिक अगुवा रजनिकान्त झाले सडक कालोपत्रे नहुँदा गैर बजारका वासिन्दाले निकै सास्ती खेपिरहेका जानकारी दिए । स्थानीय वासिन्दाबाट पटक–पटक अवरोध भएपछि नाला निर्माण गरेर मात्रै सडक कालोपत्रेको काम अघि बढाउने सहमति भएको छ । नागरिक अगुवा झाका अनुसार सहमति अनुसार पनि सडक निर्माणको काम अघि बढेको छैन् ।

सुरुमा ठेकेदारसँग सम्झौता हुँदा स्थानीय वासिन्दाले माग गरे अनुसार व्यवस्थित नाला निर्माण गर्ने उल्लेख नभएका कारण गैर बजार खण्डमा सडक कालोपत्रेको काम अघि बढ्न नसकेको हुलाकी सडक कार्यालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले बताए । उनले स्थानीय वासिन्दाको माग अनुसार नै नाला निर्माण गर्न मन्त्रालयसँग स्वीकृत माग गरिएको बताए ।