चिनी उद्योगको प्रदुषण नियन्त्रण गर्ने सहमती

548
चिनी उद्योगको प्रदुषण नियन्त्रणका सम्वन्धमा हरिवन नगरपालिकामा शनिवार आयोजित छलफलमा उपस्थित मेयर प्रसाईं लगायत सरोकारवालाहरु । (तस्बिर : अच्यूत/उज्यालो अभियान)

अच्यूत कुमार सापकोटा/हरिवन – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगको प्रदुषण नियन्त्रण गर्ने सहमति भएको छ ।

उद्योगको धूलो, धुँवा एवं दुर्गन्ध नियन्त्रणको माग गर्दै उद्योग छेउछाउका स्थानीय वासिन्दा उद्योगको गेटमा निरन्तर धर्नामा बसेपछि शनिवार हरिवन नगरपालिका कार्यालयमा सबै सरोकारवालाको उपस्थितिमा छलफल आयोजना गरिएको थियो । छलफलमा एकवर्ष भित्र उद्योगको प्रदुषण नियन्त्रण गर्ने निर्णय भएको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले जानकारी दिए ।

सहमती अनुसार उद्योगले प्रदुषण नियन्त्रणका लागि काम गरे/नगरेको सम्वन्धमा अनुगमन गर्न नगरप्रमुख प्रसाईको संयोजकत्वमा १५ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । शनिवार दिउँसो ३ बजेपछि साँझ अबेरसम्म भएको छलफलमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, उद्योगपति राजेशबाबु केडिया, हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल, विभिन्न वडाका वडाध्यक्ष, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र आन्दोलित स्थानीय वासिन्दाको तर्फबाट संघर्ष समितिका संयोजक सुरेश कुमार भट्टराई लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

चिनी उद्योगबाट निस्किएको धूलो, धुँवा र गन्धले आफूहरुको दैनिकी प्रभावित हुनुका साथै स्वास्थ्यमा विभिन्न खाले समस्या देखा परी घर–गाउँमा बस्नै नसक्ने अवस्था रहेको स्थानीय वासिन्दाले गुनासो गर्दै आएका छन् । शनिवारको सहमतिसँगै स्थानीय वासिन्दाले माघ २२ गतेदेखि उद्योगविरुद्ध सुरु गरेको धर्ना कार्यक्रम स्थगित गरेका छन् । हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष महबुब रेजाले स्थानीय वासिन्दाको मागका सम्वन्धमा चासो नदिए शनिवारबाट उद्योगको गेटमा आमरण अनसनमा बस्ने चेतावनी दिएका थिए ।