उद्योग वाणिज्य संघ हरिवनमा पुनः श्रेष्ठ

969
अध्यक्षमा पुनः निर्वाचित मोहनलाल श्रेष्ठ ।

हरिवन – उद्योग वाणिज्य संघ हरिवनको अध्यक्षमा पुनः मोहनलाल श्रेष्ठ चयन भएका छन् ।
आईतबार साँझ अबेर सम्पन्न वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्ष राजन केसी, उपाध्यक्ष प्रयागराज पोते, उपाध्यक्ष अशोक साह, महासचिव रामचन्द्र गौतम, सचिव कृष्णप्रसाद श्रेष्ठ, कोषाध्यक्ष रामविनोद कुशवाहा तथा सदस्यहरु कृष्णबहादुर कार्की, नवराज धमला, बालकृष्ण गौतम, निरञ्जनप्रसाद साह, दिनेश केसी चयन भएका छन् । तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो । संघको ३ जना सदस्य भने नवनिर्वाचित कार्यसमिति बैठकले मनोनित गर्नेछ ।
गीतानाथ मैनाली (केदार) को संयोजकत्वमा रामहरि प्रसार्इं तथा भरत कार्की सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । त्यसअघि मोहनलाल श्रेष्ठको अध्यक्षता एवं प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह भएको थियो । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंको विशिष्ट आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल लगायतको आतिथ्यता रहेको थियो । महासचिव रामचन्द्र गौतमको सञ्चालन रहेको कार्यक्रममा पूर्व सांसद् नरेन्द्र साह लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।